काठमाडौँ । शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेकोमा चिकित्सकहरूले जोड दिए।
विश्व ध्यान दिवसका अवसरमा कैलाशकुट सामाजिक अभियानले काठमाडौँको हाँडीगाउमा आयोजना गरेको स्वस्थ जीवनशैली र तनाव व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रममा शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सा विभाग प्रमुख डा।सरोजप्रसाद ओझाले स्वस्थ जीवनका लागि योग र ध्यानलाई स्वभावका रुपमा विकास गर्न आवश्यक रहेको बताए।
स्वस्थ जीवनशैली भनेको आहार, विश्राम र व्यायाम भएको उल्लेख गर्दै डा।ओझाले शरीरलाई सक्रिय र मानलाई शान्त राख्नु पर्ने बताए। डा।ओझाले तनावलाई दिमागमा राखिराख्दा दीर्घरोग उब्जने भएकाले तनावको छिटो र सहज व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए ।
मनोचिकित्सक डा।सरोज शाक्यले शरीर र मनमा नकारात्मक प्रभावमा पार्ने विषयमा संयम अपनाउन सुझाव दिँदै तनावको बेवास्ता नगरी छिटो व्यवस्थापनले दीर्घरोगबाट बचाउने बताए । डा।शाक्यले तनावको व्यवस्थापन र स्वस्थ जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने बताए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले जीवनलाई सार्थक बनाउन स्वास्थ्य महत्वपूर्ण पक्ष भएकाले वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।
अध्यक्ष प्रजापतिले स्वास्थ्य, शिक्षा र वडाको संस्कृति एवं सम्पदाको संरक्षणमा विशेष ध्यान दिने उल्लेख गरे ।
कैलाशकुट सामाजिक अभियानका अध्यक्ष महेश कुमार श्रेष्ठले रोग लागेपछि उपचार गर्ने भन्दा पनि रोगै लाग्न नदिनका लागि स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रममा जोड दिइएको बताए । अभियानले संस्कृति, सम्पदा र स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ ।