केही मानिसमा खाना खाने बित्तिकै पेट दुख्ने समस्या हुन्छ । खाना नखाए नि नहुने खाँदा नि पेट दुख्ने । यस्तो समस्याले धेरैलाई सताएको हुनसक्छ । त्यसैले खाना खाने बित्तिकै पेट के कारणले दुख्छ भन्ने कुरा जानियो भने त्यसको समाधान पनि सजिलो हुन्छ ।
ग्यास्ट्रिक
ग्यास्ट्रिकको समस्या हुने मानिसलाई खानेबित्तिकै पेट दुख्छ । विशेषगरी तल्लो छाती र माथिल्लो पेटमा दुख्छ । चिल्लोयुक्त खानेकुरा खाँदा बढी पीडा हुन्छ । पेट र भोजन नलीलाई जोड्ने भल्भ कमजोर हुँदा ग्यास्ट्रिक हुन्छ । भल्म कमजोर हुँदा खानेकुरा र पेटको एसिड माथि धकेलिने हुनाले छातीमा पीडा हुनुका साथै अमिलो पानी मुखबाट आउँछ ।
फुड एलर्जी
केही खानेकुराले पेटमा एलर्जी गराउँछ र पेट दुख्छ । खानेकुरा खाएपछि आँखा रातो हुने, सास फेर्न कठिन हुने, जिब्रो, ओठ र घाँटी सुनिने, रक्तचाप घट्ने, कमजोर महसुस हुने, छाती दुख्ने जस्ता समस्या फुड एलर्जीका लक्षण हुन् । बदाम, दूध, माछा, गहुँको परिकार लगायतले फुड एलर्जी गराउँछ ।
फुड पोइजनिङ
संक्रमित र ब्याक्टेरियायुक्त खानाले फुड पोइजनिङ हुन्छ । पेट दुख्ने, बान्ता आउने, पखला लाग्ने, डिहाइड्रेसन र ज्वरो फुड पोइजनिङका लक्षण हुन् । काँचो वा राम्रोसँग नपाकेको खानेकुरा वा संक्रमित पानीले फुड पोइजनिङ गराउँछ । दही, मासु, काँचो सब्जी, फलफूल, जुस र निर्मलीकरण नगरेको दूधमा इकोली ब्याक्टेरिया हुन्छ जसले नराम्रोसँग पेट दुख्छ ।
अल्सर
पेटको अल्सरका कारण पनि खानेबित्तिकै पेट दुख्छ । यो दुखाई लामो समयसम्म रहन सक्छ । अल्सर हुँदा आन्द्रा सुनिने र गाँठो पर्ने गर्छ । जब, खानेकुराले आन्द्रालाई दबाब दिन्छ, स्वत पेट दुख्छ । एच पोलोरी ब्याक्टेरिया, सुर्ती सेवन, अत्यधिक मदिरा सेवन, कब्जियत आदिका कारण अल्सर हुने गर्छ ।