काठमाडौं । ह्याम्स अस्पतालले शरिरमा घाउ नबनाइ इण्डोस्कोपीद्वारा गरिने ‘पोइम’ प्रविधिको शुरुवात गरेको छ ।
अस्पतालका निर्देशक आरएस भण्डारीले मुलुकमै पहिलो पटक शरिरमा घाउ नबनाइ ‘पोइम’ प्रविधिबाट तीन जना बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको बताए । अस्पतालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले उक्त कुराको जानकारी दिए । पौष १ गते सम्पन्न उक्त सेवा अस्पतालले बिरामीलाई निःशुल्क रुपमा प्रदान गरेको उनले बताए ।
डा. विवेक कुमार पुर्वेको नेतृत्व तथा भारतका म्यास सुपर स्पेशालिटी अस्पतालका प्रमुख ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. विकास सिंगलको निगरानीमा भएको शल्यक्रियामा ग्यास्ट्रोइन्टोरोलोजिष्ट सिलवालसहित डा. अजित खनाल तथा एनेस्थेसियोलोजीद्वय डा. मुरारी राज उप्रेती तथा डा. सुरज लामिछाने लगायतको टोलीले उक्त शल्यक्रिया सम्पन्न गरेका थिए ।
यसअघि वीर अस्पतालमा विदेशी चिकित्सकहरु आएर उक्त शल्यक्रिया गरेको अस्पतालको दाबी रहेको छ । त्यसबेला विदेशी चिकित्सकहरु नेपाल आएर सो शल्यक्रिया गरेपनि नेपालकै चिकित्सकले भने पहिलो पटक ह्याम्स अस्पतालमा ‘पोइम’ प्रविधिद्वारा शल्यक्रिया गरेको ग्यास्ट्रोइन्टोरोलोजिष्ट डा. नन्दु पौडेल सिलवालले बताए ।
खाना एवम् तरल पदार्थ निल्न नसकिने र गाहृो हुने यस किसिमको समस्या विश्वभरी करिव १ लाख मध्ये १ जनालाई देखिने तथ्यांक भएपनि यो समस्याका बिरामी अझै बढी हुनसक्ने अस्पतालका मेडिकल निर्देशक डा.सविन कोइरालाले बताए । यसअघि उक्त रोगको स्थायी उपचार शल्यक्रियाबाट मात्रै हुने गरेकोमा अब भने घाउ नबनाइ उपचार गर्न सम्भव भएको डा कोइरालाको भनाई छ ।
हाल बिरामीको अवस्था सामान्य भएर डिस्चार्ज गरिसकिएको डा कोइरालाले बताए । उक्त रोगको शल्यक्रिया भारतमा २ लाख ५० हजार भारतीय रुपैयाँमा गरिँदै आइएको अब नेपालमा करिब १ देखि २ लाखमा हुने डा कोइरालाको भनाई छ ।
यो रोग लागेका व्यक्तिलाई खाना, पानि निल्न गाहो हुने, तौल घट्ने, खोकी लागिरहने लगाएका विभिन्न शारीरिक तथा मानसिक समस्या समेत हुने गरेको चिकित्सकहरुको भनाई छ ।