जाडो मौसम धेरैलाई मनपर्छ। यो सिजन रमाइलो र खानपिनका लागि जति राम्रो हुन्छ, त्यति नै यो मौसममा शारीरिक समस्या पनि सृजना हुन्छ। चिसो लाग्ने वित्तिकै विभिन्न रोगको प्रकोप बढ्छ।
जाडोमा शारीरिक मात्र नभई डिप्रेसन र मुड डिसअर्डरजस्ता मानसिक रोग पनि बढेको पाइन्छ । जाडो मौसममा घामको मुख देख्न नपाउँदा मानसिक समस्या बढ्दै जान्छ, जसले हाम्रो मानसिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने केही हर्मोनलाई असर गर्छ।
डिप्रेसन यस्तो मानसिक रोग हो जसको समयमै उपचार गरिएन भने यसले हाम्रो मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्छ। डिप्रेसन जस्तो समस्या जुनसुकै मौसममा पनि हुन सक्छ तर जाडोमा यसको सामना गर्न केही गार्हो छ । केही प्रभावकारी उपायहरू पालना गरेर जाडोमा मानसिक तनाव , अवसाद वा मुड स्विङ जस्तो समस्याबाट मुक्त हुन सकिन्छ।
चिकित्सकका अनुसार जाडो मौसम डिप्रेसनका बिरामि बढनुका विभिन्न कारणहरू छन् ।
जैविक घडी प्रभावित
चिसो मौसममा शरीरले पर्याप्त घाम पाउँदैन । जसका कारण शरीरको जैविक घडी प्रभावित हुन्छ । र, व्यक्तिले डिप्रेसनको लक्षण महसुस गर्न सक्छ ।
सिरेटिनिनको स्तर कमी
सिरेटोनिन एक न्युरो टान्समिटर हो । शरीरमा यसको लेबल कम भएपछि यसको असर मानिसको मूडमा पर्छ । र, मानिस उक्त रोगको सिकार बन्न सक्छ। भिटामिन डीले शरीरमा सिरेटोनिन उत्पादन गर्न मुख्य भूमिका निभाउँछ । यसको कमीले नै शरीरमा सिरेटोनिनको लेबल घट्छ । जसका कारण मानिस दिनमा अल्छीपन महसुस गर्न सक्छ।
मेलेटोनिनको स्तर वृद्धि
मेलेटोनिन यस्तो हर्मोन हो, जसको असर मानिसको निद्रा र मूडमा पर्छ । एसएडीबाट पीडित व्यक्तिको शरीरमा मेलेटोनिनको मात्रा बढेको पाइन्छ । जसका कारण मानिसले अल्छीपन महसुस गर्छ ।
लक्षण
चिकित्सकका अनुसार यो रोगका बिरामीलाई यी लक्षणहरू देखापर्छन् ।
- अल्छीपन तथा कमजोर महसुस गर्नु
- एकाग्रतामा कमी
- निद्रामा समस्या
- निराशा तथा अपराधबोध महसुस गर्नु
- काममा रुचि घट्नु
- भोक तथा तौलमा बदलाव
- डिप्रेसन महसुस गर्नु
उपचार
चिकित्सकले एसएडीको उपचार गर्ने यी उपाय सुझाएका छन् ।
एन्टिडिप्रेसेन्ट
चिकित्सकले डिप्रेसन तथा एसएडीका बिरामीलाई एन्टिडिप्रेसेन्ट औषधी प्रेस्क्रिप्सन गरेको पाइएको छ । यद्यपि, बिरामीले चिकित्सकको सल्लाहबिना औषधी प्रयोग गर्नुहुँदैन ।
लाइट थेरापी
चिकित्सकका अनुसार सन् १९८० को दशकमा लाइट थेरापी एसएडीका लागि उपयुक्त उपचार मानिन्थ्यो । यो प्रक्रियामा बिरामी बिहान लाइट बक्स नजिकै राखी उपचार गरिन्थ्यो । जसबाट बिरामीले आराम महसुस गर्थे ।
साइकोथेरापी
काग्रिटिव बिहेभियर थेरापी साइकोथेरापीको एक प्रकार हो, जो एसएडीको उपचारमा फाइदाजनक हुन्छ । यसमा मानिसको नकारात्मक सोच वा विचारको पहिचान गरी बिहेभियर एक्टिभेसन तरिकाबाट उसमा सकारात्मक सोचको प्रोत्साहन गराइन्छ ।