काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा आज र भोलि नेपाल स्वास्थ्य सम्मेलन २०२४ हुँदै छ ।
देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त स्वास्थ्य सम्मेलनको आयोजना गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरेको उनको भनाई छ ।
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ भन्ने नाराका साथ काठमाडौँमा हुने ‘नेपाल हेल्थ कन्क्लेभ’मा ९० भन्दा बढी देशबाट दर्ता भएका एक हजार जना सहभागी हुँदैछन । यीमध्ये तीन सय जनाको भौतिक उपस्थिति र सात सयजना भर्चुअल माध्यमबाट सम्मेलनमा जोडिने डा बुढाथोकीले जानकारी दिए । यस सम्मेलनले प्रवर्द्धन, ज्ञान आदानप्रदान, स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने मन्त्रालयको विश्वास छ ।
यस्तै, अनुसन्धान, नवीनता र तालिमका लागि सहकार्यलाई प्रवर्द्धन गर्ने एवं दीर्घकालीन संलग्नताका लागि नीतिगत सहजीकरण र रणनीति निर्माण गर्ने सम्मेलनको उद्देश्य रहेको प्रवक्ता डा बुढाथोकीले बताए । प्रवासी संलग्नताको विश्वव्यापी अभ्यास, ‘इ–हेल्थ’ र उन्नत स्वास्थ्य, नीतिगत संवाद र दीर्घकालीन संलग्नता तथा अनुसन्धान, शिक्षा र नवीनतालगायत यस सम्मेलनका प्रमुख विषयवस्तु हुनेछन् ।
यी विषयमा सामूहिक छलफल र अनुभव आदानप्रदान हुने बताइएको छ । यस्तै, सम्मेलनले नेपाल मेडिकल प्रवासी संलग्नता रूपरेखा तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य प्रणाली सुदृढ गर्न नीतिगत सिफारिस प्रस्तुतिदेखि स्थानीय र अन्तर्राष्ट्रिय चिकित्सक, स्वास्थ्यकर्मी एवं जनस्वास्थ्यकर्मीबीच दीर्घकालीन सहकार्यका लागि रणनीति तयार गर्न सम्मेलनका निष्कर्षले थप सहज हुने अपेक्षा रहेको डा बुढाथोकीले बताए ।