हातले केही समाउन सिक्ने बेला बच्चाहरूले दुवै हातको प्रयोग गर्छन्। तर बल बढ्दै जाँदा उनीहरूले दुइटै हातको प्रयोग गर्न थाल्छन्। कतिपय बच्चाले दाहिने हातको प्रयोग बढी गर्छन् भने कतिपयले देब्रे हातको।
हामी बच्चालाई दाहिने हातको प्रयोग गर्न सिकाउँछौँ किनकि मान्छेहरूले त्यही हातको बढी प्रयोग गर्छन्। तर त्यसको बावजुद केही बच्चाहरू देब्रे हातकै प्रयोग गर्छन्। यदि तपाईँको बच्चाले पनि त्यस्तो गर्छ भने त्यसो गर्ने ऊ एक्लो होइन।
त्यस्ता धेरै बच्चा छन् जसले देब्रे हातको प्रयोग गर्छन्। संसारमा देब्रे हातको प्रयोग गर्नेहरूको सङ्ख्या थोरै नै छ। हाम्रो शरीरमा एउटा विशेष खालको असन्तुलन छ। फोनमा कुरा गर्दै केही लेख्नुपरेमा हामी देब्रे कानमा फोन राख्छौँ र दाहिने हातले लेख्छौँ। अर्थात् हामीलाई जसरी सजिलो हुन्छ त्यसरी नै काम गर्छौँ। शरीरका अङ्गको पनि हामीले त्यसैगरी नै प्रयोग गर्छौँ।
सालाखाला ४० प्रतिशत मानिसले देब्रे कानको, ३० प्रतिशतले देब्रे आँखाको र २० प्रतिशतले देब्रे खुट्टाको प्रयोग गर्छन्। तर हातको कुरा गर्नुपर्दा संसारमा केवल १० प्रतिशत मानिसले मात्रै देब्रे हातको प्रयोग गर्छन्। देब्रे वा दाहिने हातको प्रयोग गर्न मान्छेलाई केले प्रेरित गर्छ भन्ने कुरा पत्ता लगाउन अनुसन्धानकर्ताले प्रयास जारी राखे पनि अहिलेसम्म उत्तर भेटिसकेका छैनन्।
देब्रे हातको प्रयोग गर्ने मानिसहरूको जीवनमा के त्यसको कुनै असर हुन्छरु यो विषयमा लामो समयदेखि बहस चल्दै आएको छ। हाम्रो देब्रेतिरको मस्तिष्कले दाहिने हातलाई र दाहिनेतिरको मस्तिष्कले देब्रे हातलाई नियन्त्रण गर्ने गरेको बताइन्छ। युनिभर्सिटी कलेज लण्डनस्थित मनोविज्ञान विषयका प्राध्यापक क्रिश म्याकमेनसका अनुसार देब्रे हातको प्रयोग गर्नेहरू बढी क्षमतावान् हुन्छन्।
विज्ञानले यतिसम्म फड्को मारिसकेको छ कि बच्चा गर्भमै रहँदा जन्मेपछि उसले देब्रे अथवा दाहिने कुन हातको प्रयोग गर्नेछ भनेर थाहा पाउन सकिन्छ। गर्भमा रहेका बच्चाहरूको अल्ट्रासाउण्ड गर्दा १० जनामध्ये नौजनाले दाहिने हातको बूढीऔँला चुस्ने गरेको पाए।
जबकि एकजनाले मात्रै देब्रे हातको बूढीऔँला चुस्ने गरेको देखियो। जन्मपछि ती बच्चाहरूले गर्भमा रहेको बेलाजस्तै हातको प्रयोग गरेको देखियो अर्थात् नौजना दाहिने हातको प्रयोग गर्ने भए भने एकजना देब्रे हातको।