काठमाडौँ। थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । गत पुस ५ गते साउदी अरेबियाबाटै फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले थप एक जनामा मंकीपक्स पुष्टि भएको बताए । परीक्षणको क्रममा सङ्क्रमण देखिएको छ । सङ्क्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ उनले भने ।
यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्किपक्स सङ्क्रमण पुष्टि भएको थियो ।
सर्ने तरिका
मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।
लक्षण
मङ्कीपक्स सङ्क्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्दछन् । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।