काठमाडौँ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप अभियान सञ्चालन गर्ने भएको छ ।
परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए ।
स्वास्थ्य पत्रकार मञ्च, नेपाल र राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा एचपिभी खोप सम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा उनले उक्त अभियानको बारेमा जानकारी दिएका छन् । विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २२ देखि सञ्चालन हुन लागेको खोप अभियानमा एचपीभी खोपको यसपटक एक डोज मात्रै दिइने उनले बताए। यस अघि ६ महिनाको फरकमा २ मात्रा दिइने गरिएको एचपीभी खोप अब एक डोज दिए पग्ने डा. गौतमले बताए । विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरयुक्त भन्दै प्रमाणित खोप मात्र नेपालमा खरिद आपूर्ति गरिन्छ र यो खोप नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको उनले जानकारि दिए ।
गाभीलाई खोपका लागि निवेदन दिँदा दुई डोजको लागि नै दिएका थियौँ । तर अनुसन्धानले एक डोज नै उत्तिकै प्रभावकारी भएको पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनको सुझाव र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा खोपको डोज घटाउने निर्णय गरिएको डा. गौतमले बताए । ‘खोप लगाएपछि जो एन्टीबडी बन्नु पर्ने हो। त्यो एक डोज लगाए पनि दुई डोज लगाए पनि फरक नपर्ने दखियो। त्यसले गर्दा एक डोज नै काफी छ।’ एचपीभी खोप अभियानमा १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् उनले भने ।
डा. गौतमका अनुसार यस खोपले एचपिभी प्रजाति १६ र १८ को कारणले सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्दछ । खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । यसअघि खोप लिईसकेका किशोरीहरुलाई यो खोप आवश्यक नहुने भन्दै निजी रुपमा खरीद गरेर लगाएका वा सरकारले यसअघि गरेको डेमोस्ट्रेसनमा सहभागी भएकाहरुलाई थप खोप आवश्यक नपर्ने उनले बताए ।
कार्यक्रममा विज्ञको तर्फबाट क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले नेपालमा क्यान्सरको अवस्था, एचपीभी भाइरस र खोपको प्रभावकारीता बारेमा प्रस्तुति दिएकी थिइन्। उनले नेपालमा दैनिक औसत ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको बताईन् । अहिले नेपालमा प्रति एक लाखमा १६ जनामा पाठेघरको मुखको क्यान्सर भएको जानकारि गराईन् ।
त्यसैगरि कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले खोप अभियान आगामी माघमा १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिए। सथै उनले यस अभियानलाई सफल बनाउन सञ्चारमाध्यमको महत्वपुर्ण भूमिका रहेको भन्दै सहि सूचना सम्पादन गर्न सबै सञ्चारकर्मीसंग आग्रह गरे । उनले अभियानका बेला सुनिन सक्ने अवान्चित घटनाका विषयमा तोकिएका स्वास्थ्य अधिकारीसंग बुझेर मात्रै समाचार लेख्न समेत अनुरोध गरे ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले खोप सम्वन्धी अभिमुखीकरणले सञ्चारकर्मीहरुलाई थप ज्ञान र जिम्मेवारी बोध भएको भन्दै भविस्यमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारिताको महत्व र अभियानका बेलामा स्वास्थ्य पत्रकारहरुले चाल्नुपर्ने भूमिकाबारेमा प्रस्तुति दिएका थिए । उनले जोखिम सञ्चार नीतिबारेमा समेत बताएका थिए ।