काठमाडौं । मङ्कीपक्स सङ्क्रमण पुष्टि भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई पुरुषमध्ये एक जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
साउदी अरेबियाबाट आएका तनहुँका ३६ वर्षीय युवकमा पुस ५ गते र ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो ।
अस्पतालका निर्देशक डा युवानिधी बसौलाले ३६ वर्षीय पुरुषलाई मंगलबार डिस्चार्ज दिएको र ४४ वर्षीय पुरुष भने उपचारकै क्रममा रहेको बताए । उनको अवस्था सुधार हुँदै गइरहेको पनि जानकारि दिए ।
लक्षण
मङ्कीपक्स सङ्क्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्दछन् । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।
सर्ने तरिका
मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।