भक्तपुर । भक्तपुरको गठ्ठाघरमा सञ्चालित नागरिक अस्पतालले अत्याधुनिक उपकरण सहितको लेभल ३ आईसीयू सञ्चालनमा ल्याएको छ । ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेपछि लेभल-३ आईसीयू सेवा सञ्चालनमा आएको हो ।
ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक सामुदायिक शिक्षण अस्पताल गठ्ठाघरमा स्थापना गरिएको ९ शय्याको अत्याधुनिक लेभल ३ आइसियुको उद्घाटन कार्यक्रममा आज स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लक्षित समूहले पुर्णरूपमा लाभ लिनेगरी स्वास्थ्य बिमा अघि बढाउन जरुरी रहेको बताए ।मन्त्री पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताए । उनले वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत उपलब्ध गराएको भए पनि त्यो आंशिक मात्रै रहेको र आवश्यकता अनुसारको नभएको बताए ।
उनले नागरिकको योगदानमा आधारित बिमा प्रणाली मात्र प्रभावकारी हुने बताउँदै हालको बिमा प्रणालीलाई रु ५ लाख पुर्याई पूर्ण र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले सरकारी वा निजी जुनसुकै अस्पतालले राज्यले व्यवस्था गरेको कानुनी मापदण्ड पालना गर्नुपर्ने बताए । निजी स्वास्थ्य संस्थाहरूले नाफाको दृष्टिकोणले मात्रै काम गर्न नहुने बताउँदै उनले निजी अस्पतालले आमजनताका लागि दिनुपर्ने १० प्रतिशत निःशुल्क सेवा पारदर्शी रुपमा दिन आग्रह गरे ।
कार्यक्रममा ह्याम्स अस्पताल तथा नागरिक अस्पतालका अध्यक्ष रामशरण भण्डारीले गुणस्तरीय स्वास्थ्यका लागि आफूले निजी क्षेत्रबाट सघाइरहेको बताउँदै निजी क्षेत्रको सेवामाथि प्रश्न उठ्ने विषयमा अस्पतालको ग्रेडिङ गरेर हटाउनुपर्ने उल्लेख गरे । उनले आफू नागरिकको निगरानीमा सरकारको नीतिअनुसार चल्नुपर्छ भनेर आइपीओमा गएको समेत उल्लेख गरे।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा।कुन्दनसिंह कार्की, आइसियु विशेषज्ञ डा.अर्जुन कार्की लगायतले नेपालको स्वास्थ्य प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताए ।
अस्पतालको नयाँ भवन निर्माणका लागि गठ्ठाघरमै ८ रोपनी जग्गा लिइएको र ५ वर्षभित्र २०० बेडको अस्पताल बनाउने योजना रहेको अस्पतालले जनाएको छ । नागरिक कलेज अफ हेल्थ साइन्सले बीएन, बीएससी नर्सिङ र एचएका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।