काठमाडौं । पाठेघर सृष्टिको उद्गम विन्दु हो । पाठेघरमा नै भुण्र हुर्कन्छ । पाठेघर भएकै कारण शरीरिक रुपमा पुरुषभन्दा महिला फरक हुन्छन् । पाठेघर महिलाको अस्तित्वसँग जोडिएको हुन्छ । सृष्टिको उद्गम विन्दु मानिने पाठेघर हेरचाहमा विशेष ध्यान नदिदा महिलाले जीवनभर पीडा भोग्नु पर्ने हुन्छ । पछिल्लो समय धेरै महिलाहरु पाठेघरको समस्याबाट ग्रसित छन् । पाठेघरमा के कस्ता समस्याहरु आउँछन् ? यसका कारण र पाठेघर स्वस्थ्य राख्न के कुरामा ध्यान दिने भन्ने बिषयमा स्त्री रोग बिशेषज्ञ डा दिलासा तिमल्सिनासँग गरेको कुराकानीः
१. पाठेघरमा के कस्ता समस्याहरु देखिन्छन् ?
पाठेघरको मुख, डिम्बाशय (ओभरी) र पाठेघर यि तिनवटा अंगलाई समग्रमा पाठेघर भनेर बुझिन्छ । यि तिन भागमा समस्या परे महिलालाई दुख दिने गर्दछ । पाठेघरमा देखिने केहि समस्याहरु यसप्रकार रहेका छन् ।
- पाठेघरमा अैजेरो अर्थात मासु पलाउने
- पाठेघर क्यान्सर
- डिम्बाशयमा सिस्ट (पानीको फोका) पलाउने
- डिम्बाशय ट्युमर (क्यान्सर)
- पाठेघर मुखको क्यान्सर
- सेतो पानी जाने
- पाठेघरको संक्रमण (इन्फेक्सन)
२. कुनै पनि महिलाले आफ्नो पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ? कस्ता लक्षणहरु देखिन्छन् ?
धेरैजसो महिलाले पाठेघरको काम बच्चा जन्माउने मात्र हो भनेर बुझेका हुन्छन् । त्यसैले त्यति हेरचाह गरिएको देखिदैन । कुनै पनि महिलाको पाठेघरमा समस्या आउँदा यस्ता लक्षणहरु देखिन सक्छन् ।
पाठेघर सुनिन्दा अत्याधिक पेट दुख्ने र रगत जाने जस्ता लक्षणहरु देखिन्छन् तर पाठेघर सुन्निएको छ वा छैन भनेर थाहा पाउनका लागी बिशेषज्ञसँग परिक्षण गराउनै पर्छ । त्यसका लागी भिडियो एक्सरे गरिन्छ । साथै कतिपय अवस्थामा बिशेषज्ञले योनीबाट हात हालेर पनि हेर्ने गर्छन् ।
महिनावारी भएपछि नगन्हाउने सेतो सफा पानी बग्ने समस्यालाई सामान्य मानिन्छ । तर सेतो पानी जाँदा गन्हाउँछ, योनी चिलाउँछ, फोका फोका जस्तो डावर देखिएमा त्यसलाई इन्फेक्सन भएको बुझिन्छ । इन्फेक्सनलाई उपचार गरिहाल्नुपर्छ । समयमा नै इन्फेक्सनको उपचार नगरेमा इन्फेक्सन फैलिदै गएर पाठेघरको मुखको क्यान्सर पनि हुन सक्छ । सामान्यतय पाठेघरमा समस्या भए देखिने लक्षणहरु यसप्रकार रहेका छन् ।
- समयमा महिनावारी नहुने
- महिनावारी हुदाँ अत्याधिक रगत बग्ने
- महिनावारी हुदाँ अत्याधिक पेट दुख्ने
- सेतो पानी बग्ने
- योनी चिलाउने
- यौन सम्पर्क गर्दा दुख्ने
- यौन सम्पर्क गर्दा रगत देखा पर्ने
३. महिलाको पाठेघरमा यस्ता खाले समस्याहरु के कारणले आउन सक्छन् ?
प्रायः महिलाको पाठेघरमा आउने विभिन्न समस्याका कारणहरुमध्ये केहि समान खालका हुन्छन् भने केहि अलग किसिमका हुन सक्छन्् । पाठेघरमा आउने विभिन्न समस्याका केहि कारणहरु यसप्रकार छन् ।
यौनांगको सरसफाईमा ध्यान नदिदाँ पाठेघर इन्फेक्सन हुन सक्छ । पिसाबको इन्फेक्सनबाट पनि पाठेघर इन्फेक्सन हुन सक्छ । एक भन्दा धेरै व्यक्तिसँग र कलिलो उमेरमा नै यौन सम्पर्क गर्नाले पनि पाठेघर इन्फेक्सन हुनसक्छ । कलिलो उमेरमा यौन सम्पर्क गर्दा पनि पाठेघरमा समस्या आउन सक्छ । कलिलो उमेरका महिलाको शरीर र भजाइना पनि राम्रोसँग विकास भइसकेको हुदैँन । साथै किटाणुसँग लड्नका लागी इम्युनिटि पावर ९ किटाणुसँग लड्ने क्षमता० पनि कम हुन्छ । त्यसैले कहिलो उमेरमा यौन सम्पर्क गर्दा इन्फेक्सन हुने सम्भाबना उच्च हुन्छ ।
पाठेघरको तिनवटा लेयर (पत्र) हुन्छ । पाठेघर सुन्निएको भए महिनावारी गडबडि हुने गर्छ । त्यस्तै, पाठेघरमा मासु पलाएमा पनि पाठेघरको साइज ठुलो हुनुका साथै सुन्निन सक्छ ।
४. पाठेघरमा आउने यि समस्याको उपचार कसरी गरिन्छ ?
पाठेघरको इन्फेक्सनको उपचार उपचार
सुरुमा पाठेघरको इन्फेक्सन कस्तो छ भनेर निक्र्रोल गर्नुपर्छ । सेतो पानी जाने समस्या छ भने कस्तो प्रकारको सेतो पानी गइरहेको छ भनेर हेर्नुपर्छ । कोहि महिलाको दहिको डल्लो जस्तो हुन्छ कोहि महिलाको सिगाँन जस्तो चिप्लो हुन्छ । त्यस्तै, बिरामीको यौनी चिलाइरहेको छ वा छैन हेर्नुपर्छ । त्यसको आधारमा दबाई ९औषधि० दिइन्छ । पाठेघरको इन्फेक्सन औषधिबाट निको पार्न सकिन्छ ।
ओभरी सिस्टको उपचार
सामान्य किसीमको सानो सिस्ट भएमा त्यसलाई केहि गर्नुपर्दैन । त्यस्ता बिरामीलाई ६ महिनापछि फलोअपलाई बोलाइन्छ । सिस्ट सुकेर गयो भने डराउनुपर्दैन । यदि सिस्ट ५ सेमि भन्दा बढेर गए उपचार गर्नुपर्छ । सिस्टमा रगत जमेको छ, त्यसको साइज सानो छ भने एण्टिबायोटिकले ठिक हुन्छ । सिस्ट ठुलो छ, बढ्दै गइरहेको छ साथैे बिरामीलाई एकदमै दुखिराखेको छ भने अर्को बिकल्प खोज्नुपर्छ । कहिलेकाहि सिस्ट बढ्दै जाँदा बटारिन्छ । जसका कारण बिरामी जटिल अवस्थामा आउँछ । त्यसैले आकस्मिक अस्पताल आउने गर्छन् । यस्तो अवस्थामा शल्यक्रिया गरेर सिस्ट निकाल्नुपर्ने हुन्छ ।
५. पाठेघरको बारेमा हरेक महिलाले जान्नैपर्ने बिषयहरु के के हुन् ?
- पाठेघरलाई महिलाले त्यति महत्व दिदैनन् । पाठेघरलाई बिशेष हेरचाह गर्नुपर्ने हुन्छ ।
- कलिलो उमेरमा बालबालिका नजन्माएको राम्रो हुन्छ ।
- बच्चा जन्माउदा पहिलो दोस्रो सन्तानको बिच जन्मान्तर राख्नुपर्छ । कम्तिमा २ देखि ३ बर्षको अन्तराल हुनुपर्छ ।
- धेरै बच्चा जन्माउँदा पनि पाठेघरमा समस्या हुन सक्छ ।
- शारीरिक सम्पर्क गर्दा कण्डमको प्रयोग गर्नुका साथै बिज्ञको सल्लाह लिनु पनि जरुरी हुन्छ ।
- योनी सरसफाइमा ध्यान दिनुपर्छ ।
- समय समयमा जनरल परिक्षणका गरिरहनुपर्छ ।
- २१ बर्ष नाघेका महिलाले पाठेघरको मुखको पानीको जाँच अर्थात प्याप स्मेर टेष्ट गराउनुपर्छ ।
६. पाठेघर स्वस्थ्य राख्न के कुरामा ध्यान दिनुपर्छ ?
- पाठेघर स्वस्थ राख्न हाइजिन मेन्टेन (शारीरिक सरसफाई व्यवस्थापन) गर्नुपर्छ ।
- स्वस्थकर खानेकुरा खानुपर्छ ।
- योनी सधै सफा राख्नुपर्छ ।
- कलिलो उमेरमा (२० बर्ष अघि) यौन सम्पर्क गर्नुहुदैँन ।
- एक भन्दा धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु हुदैन ।
- परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग गनुपर्छ । कण्डमको प्रयोगले एच आइ भि लगायत अन्य यौन संक्रामक रोगहरुबाट बचाउँछ ।