काठमाडौँ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप अभियान सञ्चालन गर्ने भएको छ ।
जनस्वास्थ्य कार्यालय काठमाडौँले आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा काठमाडौँका एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुख क्यान्सर विरुद्धको (एचपीभी )खोप लगाइने जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।
आगामी माघ २२ गते देखि सञ्चालन हुने खोप अभियानमा खोप अभियन्ताहरूले विद्यालयमै पुगेर ६ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई खोप लगाउने छ । खोप अभियान पहिलो र दोस्रो गरि दुई चरणमा सञ्चालन हुने छ ।
विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने अधिकारीले बताए ।उनका अनुसार अहिले एचपिभी खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरेर किशोरीलाई दिँदै आएको छ । यसको प्रभावकारिता शत प्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाइसकेकोले ढुक्कसँग खोप लगाउन उनको सुझाव छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले सोही अभियानमा काठमाडौँमा १३८ वडाका १४६ स्वास्थ्य संस्था र एक हजार १८६ विद्यालयबाट खोप प्रदान गर्ने जानकारी दिए । अभियानमा एचपीभी खोपको यसपटक एक डोज मात्रै दिइने उनले बताए।
विष्टका अनुसार यस खोपले एचपिभी प्रजाति १६ र १८ को कारणले सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्दछ । खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । यसअघि खोप लिईसकेका किशोरीहरुलाई यो खोप आवश्यक नहुने भन्दै निजी रुपमा खरीद गरेर लगाएका वा सरकारले यसअघि गरेको डेमोस्ट्रेसनमा सहभागी भएकाहरुलाई थप खोप आवश्यक नपर्ने उनले बताए ।
एचपिभी खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, रिँगाटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने पेट दुख्ने, वाकवाकी लाग्ने वान्ता हुने जस्ता प्रतिकुल असर देखिएपछि यस प्रकारका असर आफै ठिक हुँदै जाने हुँदा नआतिन विष्टले जानकारि दिए ।