काठमाडौँ । विराटनगरस्थित न्युरो अस्पतालले रंगेली नगरपालिका-१ बबिया बिर्तामा रहेको जनप्रिय माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
नेपाल क्षयरोग निवारण संस्था, गणेशमान सिंह फाउण्डेशन, तोरेन्द्र मान सिंह फाउण्डेशन, लायन्स क्लब अफ विराटनगर र रंगेली नगरपालिका लगायतको सहकार्यमा आयोजित शिविरमा गोल्छा आँखा अस्पतालको पनि सहभागिता रहेको थियो।
शिविरमा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ न्युरो सर्जन डा. सुनिल कुमार दास, बरिष्ठ बिशेषज्ञ न्युरोलोजिष्ट डा. सुनन्द पौडेल, बरिष्ठ न्युरो सर्जन डा.आशिष जंग थापा, बरिष्ठ बिशेषज्ञ गाइनेक्लोजिष्ट डा.निशा अधिकारी, बरिष्ठ बिशेषज्ञ रेडियोलाजिष्ट डा. पन्नालाल साह, बरिष्ठ बिशेषज्ञ ग्यास्ट्रोलोजिष्ट डा.भुवनेश्वर यादव, बरिष्ठ युरो सर्जन डा.पुरुषोत्तम पराजुली, बरिष्ठ हाड जोर्नी रोग बिशेषज्ञ डा. अमित देब, बरिष्ठ बाल रोग बिशेषज्ञ डा.सुरेश प्रसाद साह, बिशेषज्ञ जनरल सर्जन डा.प्रज्वल खतिवडा, बिशेषज्ञ जनरल फिजिसियन डा. सागर कुमार साह, बिशेषज्ञ जनरल फिजिसियन डा. रमाकान्त राँय, बरिष्ठ छाला रोग बिशेषज्ञ डा. समित रे, बरिष्ठ दन्त रोग बिशेषज्ञ डा.अमित प्रताप साह, मेडिकल अफिसरहरु डा.सन्तोष यादब , डा.आश्मा कमारी यादब, डा. सावन कुमार झा, डा. कुमुद निरौला, डा. बिप्लब ठाकुर लगायतका चिकित्सकीय टोलीले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा ५०० भन्दा बढी बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। जसमध्ये ५४ जनाको भिडियो एक्सरे, ३३ जनाको इसिजी र ४५० जनाको सुगर परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो। अस्पतालले शिविरमा जाँच गराएका बिरामीहरुलाई न्युरो अस्पतालमा थप उपचारका लागि विशेष सुविधा दिने घोषणा गरेको छ। जस अनुसार सम्पूर्ण ओपिडी निःशुल्क, सबै जाँचमा २५ प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ।
बहुआयामिक सेवा प्रदान गर्दै आएको न्युरो अस्पतालले विभिन्न अवसरमा यस्ता निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु आयोजना गर्दै आएको छ।