अक्सर बच्चा जन्मिंदा सुरुमा टाउको र त्यसपछि खुट्टा बाहिर निस्कने गर्छ । त्यसैले गर्भमा पनि टाउकोमुनि रहेर बसेको हुनुपर्छ । यस स्थितिलाई बच्चा सुल्टो रहेको भन्ने गरिन्छ । तर त्यस विपरीत बच्चाको टाउको माथि छ र खुट्टा तलतिर छ भने यसलाई ‘बच्चा उल्टो बसेको’ भन्ने गरिन्छ । गर्भावस्थाको २८ हप्तामा करीब २० प्रतिशत गर्भवतीको पेटमा बच्चा उल्टो हुन्छ भने ३४ हप्तासम्म आइपुग्दा पाँच प्रतिशतमा मात्र यस्तो देखिन्छ अर्थात् तीन चौथाइमा यो समस्या आफैं सुल्झ्न्छ।
बच्चा सुल्टो बसेको छ भने जन्मिंदा टाउको निस्कन्छ र त्यसपछि सहज रुपमा शरीर निस्कन्छ । तर बच्चा उल्टो बसेको छ भने खुट्टा, शरीर निस्के पनि टाउको निस्कने बेला गाह्रो हुन्छ । उल्टो बसाइका कारणले नवजात शिशुमा समस्या आउने तथा मृत्यु हुने सम्भावना तीन गुणा बढी हुनसक्छ। शिशुलाई पुग्ने चोटहरूमा नीलो टाटो बस्ने, आन्तरिक अङ्गमा चोट, स्नायुमा असर परी पक्षघात, मेरुदण्डभित्रको सुषुम्ना नली चुँडिने, हड्डी भाँचिने आदि प्रमुख छन्।
बच्चा किन उल्टो बस्छ ?
प्रसूति विज्ञानमा गर्भवती महिलाको गर्भमा शिशुको टाउको माथि हुनुलाई बच्चा उल्टो छ भनिन्छ । यसलाई मेडिकल भाषामा ‘ब्रीच’ भनिन्छ । करिब ५ प्रतिशतमा मात्र बच्चा पछिसम्म गर्भमा उल्टो तरिकाले बसेको पाइन्छ । गर्भावस्थाको शुरुतिर गर्भेशिशुको वरिपरिको पानीको मात्रा धेरै हुनुको साथै गर्भेशिशुको आकार पनि सानो हुने कारण बच्चाको स्थिति ९बसाइ० परिवर्तन भइरहन्छ । तर ३४ देखि ३७ हप्तासम्म आइपुग्दा शिशु आफैं सुल्टो भई बस्छ ।
गर्भको अवधि ४० हप्ताको हुन्छ । तर ३७ हप्ता पूरा भएपछि बच्चा जन्मिए महिना पूरा भएको मानिन्छ । कहिलेकाहीं ३७ हप्ता नपुग्दै पनि बच्चा जन्मिन सक्छ र कुनै बेला गर्भका जटिलताका कारण पनि ३७ हप्ता पनि नपुगी प्रसव गराउनुपर्ने हुनसक्छ । उच्च रक्तचापको जटिल अवस्था आएमा, रक्तश्राव सुरु भएमा, कुनै संक्रमणको खतरा बढेमा, कुनै गम्भीर जटिलता थपिएमा आमा र बच्चाको ज्यान जोगाउन पनि अगाडि नै प्रसव गराउनुपर्ने हुनसक्छ ।
सबै अवस्थामा उल्टो बच्चा जन्माउन कठिन हुन्छ भन्ने छैन । कति पटकको गर्भ हो, कस्तो अवस्थामा बच्चा रहेको छ र प्रसव गराउने जनशक्ति कस्ता छन् भन्ने कुरामा पनि यो निर्भर गर्छ । यसको सबै कारण थाहा नभए पनि महिना नपुग्दै सुत्केरी व्यथा लाग्दा तुलनात्मकरूपमा बच्चा सानो हुनुचाहिँ प्रमुख कारण हो । यसका साथै यदि बच्चा सानो छ, बच्चाको वरिपरि पानी धेरै वा निकै कम छ, पुठ्ठाको हड्डी साँघुरो छ, साल पाठेघरको तल्लो भागमा आएर बसेको छ वा साल पाठेघरको माथिल्लो एक कुनामा टाँसिएको छ, पटक–पटक बच्चा पाएर गर्भवती महिलाको पेटको मासु धेरै नै खुकुलो छ भने बच्चा उल्टो बस्ने समस्या आउन सक्छ । यसको साथै जुम्ल्याहा बच्चा छ भने पनि बच्चा उल्टो बस्ने सम्भावना हुन्छ ।
नर्मल प्रसूतिबाट उल्टो बच्चा जन्मिने क्रममा शिशुको टाउकोभित्र रक्तश्राव हुने, बच्चा निस्सासिने, रगत जम्मा हुने, हड्डी भाँच्चिने, स्नायुसा मा दखल पुग्ने, कलेजो, मृगौलाजस्ता भित्री अंगहरूमा चोट पुग्ने कारणले नवजात शिशुको मृत्युदर ह्वात्तै बढ्छ । यस्ता खाले सुत्केरी घरमै गराउने क्रममा टाउको जन्माउन नसकी योनिद्वारमा बच्चा अड्काएर अस्पताल ल्याइपुर्याउनेहरूको संख्या उल्लेख्य छ । त्यसकारण पनि आधुनिक प्रसूति विज्ञानमा बच्चा उल्टो छ भने नर्मल प्रसूतिबाट सुत्केरी गराउनु भन्दा सिजेरियन गर्नु सुरक्षित मानिन्छ। आजकल अल्ट्रासाउन्डको मद्दतले बच्चाको अवस्था निश्चितता गरिन्छ । त्यसैले गर्भावस्थामा चिकित्सको समपरकमा बस्न जरुरि हुन्छ ।
रोकथाम
बच्चा उल्टो बस्नाका कारण गर्भावस्थामै पत्ता लाग्ने हुनाले स्वास्थ्यकर्मीसँग नियमित जाँच गराउनुपर्दछ। गर्भवती जाँचका क्रममा पेटको माथिल्लो भागतिर टाउको छामिएमा, मुटुको धड्कन अलि माथिसम्म सुनिएमा बच्चा उल्टो बसेको आशंका हुन्छ। आजकल अल्ट्रासाउण्डले शुरूमै बच्चाको अवस्था थाहा पाउन असाध्यै सजिलो बनाएको छ। अल्ट्रासाउण्डले बच्चाको उल्टो बसाइ मात्र होइन, गर्भे शिशु वा पाठेघरमा भएको जन्मजात खराबी पत्ता लगाउन, सालको अवस्थिति, पानीको मात्रा तथा तौल पत्ता लगाउन पनि मद्दत गर्छ।
पहिलो पटकको गर्भमा बच्चा उल्टो बसेको भए अप्रेशन उपयुक्त विकल्प हो। दोस्रो, तेस्रोपल्टको गर्भमा बच्चा उल्टो बसेको छ भने दक्ष डाक्टरको सहायताले पेट बाहिरैबाट बच्चा सुल्ट्याउने विधि सावधानीपूर्वक अपनाउन सकिन्छ। बच्चा उल्टो बसेका बेला प्रसूतिका लागि अस्पताल नै जानुपर्छ। नवजात शिशुलाई कृत्रिम श्वास–प्रश्वास र सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने हुन सक्छ। त्यसैले पनि लापरवाही गर्नुहुदैन्