काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।
सार्वजनिक सेवा प्रसारण (पिएसवि) को पूर्वारम्भका अवसरमा आज आयोजित विषयगत छलफलमा सहभागी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यको पहुँच आम नागरिकसम्म पुर्याउन भइरहेका कामहरूबारे आफ्ना कार्यक्रम र समाचार मार्फत सूचना दिएर भूमिका खेल्नु पर्ने सुझाव दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा भइरहेको लगानी पर्याप्त नभएको भन्दै यस क्षेत्रलाई थप व्यवस्थित बनाउन नीतिगत सुधार आवश्यक रहेको औँल्याए ।
उनले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार जनशक्ति, उपकरण र पूर्वाधार विकास लगायतको सुधारका लागि व्यवस्थापनको काम सुरु गरिसकेको बताए ।
मन्त्री पौडेलले उपचार खर्च सहज बनाउने र ज्यादा खर्च गर्नुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य बिमा कार्यक्रममा सुधार गरी नागरिकको योगदानमा आधारित बनाउनुपर्ने तथा निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवाका लागि राज्यले कोष निर्माण गर्नुपर्ने बताए ।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखी पिएसवि नेपालले मुख्य एजेन्डाका रुपमा अगाडी बढाउने बताए।
कार्यकारी अध्यक्ष डा।विष्टले महँगो स्वास्थ्य र शिक्षा प्रणालीका कारण नागरिकमा उत्पन्न खाडल हटाउने गरी नयाँ कोणबाट विषयवस्तुको उठान, संवाद र छलफलमार्फत निष्कर्ष निकाल्दै समस्या समाधानमा सहजीकरण गर्ने गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सार्वजनिक सेवा प्रसारण नेपालको हिजो देखी शुरु भएको पूर्वारम्भ कार्यक्रममा विभिन्न विषयगत छलफलहरू भइरहेका छन् । छलफलबाट निस्किएका निष्कर्षबाट सार्वजनिक सेवा प्रसारण नेपाललाई अगाडी बढ्नका लागि मार्ग निर्देशन प्राप्त हुने अपेक्षा गरिएको छ ।