काठमाडौं । सुनसरीको धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध लगाइएको छ । बिहिबार बसेको धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो ।
उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिए।
बजार क्षेत्रमा जथाभावी सुर्तीजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर सडक, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायामशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिकस्थल जस्ता क्षेत्रमा सरसफाइ गर्दा गुट्खा, खैनी, सुर्ती, चुरोट, बिँडी, तमाखु, सुल्फा आदिका खोल तथा बट्टा जथाभावी अत्यधिक मात्रामा भेटिन थालेपछि फोहर बढ्नुका साथै दुर्गन्ध बढी भई मानव स्वास्थ्यमा ठूलो असर पुग्ने भएकाले प्रयोगमा रोक लगाइएको नगरप्रमुख राईले बताए।
उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिक स्थलबाट सुर्तीजन्य वस्तु पूर्णरुपमा नहटाए जफत गरेर कानुन बमोजिम जरिवाना गरिने उल्लेख छ।