विभिन्न विज्ञापनको भरमा औषधि किनेर खाने प्रचलन र घरको खानेकुराले मात्रै हाम्रो शरीर कमजोर हुन्छ भन्ने गलत मानसिकताका कारण मानिसहरू सिसी र चक्की भिटामिन किनेर खान्छन् । आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्र्याटसले भनेका थिए– ‘भोजन नै औषधि हो ।’
हाम्रा करेसाबारीमा फलेका हरिया तरकारी, बजारमा पाइने मौसमअनुसारका फलफूललाई बेवास्ता गरेर धेरैजसो स्वास्थ्य राम्रो पार्नका लागि बजारका ‘टनिक’ खान्छौं । “डाक्टर साहेब, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ अस्पताल, हेल्थपोस्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः यस्तो सुनेकै हुनुपर्छ ।
परिवारका बालबालिका वा बिरामीबाट भर्खर तंग्रिन लागेका व्यक्तिलाई हतारमा टनिक खुवाउने प्रचलन अहिले गाउँसहर सबै ठाउँमा बढ्दो छ । बेलायत र अमेरिकाका क्रमशः वारविक विश्वविद्यालय र जन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन्, भिटामिन झोल र चक्की किनेर खानु पैसाको बर्बादी मात्र हो र यसले स्वास्थ्यमा केही पनि फाइदा गर्दैन। करिब चार लाख ५० हजार मानिसमा गरिएको यो अध्ययनबाट पत्ता लागेको अध्ययनमा वैज्ञानिक र पोषण विशेषज्ञले भनेका छन्,
भिटामिनका गोली र झोलहरू किनेर खाने मानिसहरू विभिन्न औषधि कम्पनीको विज्ञापनमा भर पर्छन्। यस्ता कम्पनीको विज्ञापन गरेर हाम्रो घरको खानेकुराले मात्रै हामीलाई शुद्ध पोषणतत्त्व पुग्दैन भने कुरा भन्छन्। यो गलत तथ्य हो। औषधि कम्पनीले बूढो हुँदै जाँदा विभिन्न रोगबाट बच्न पनि भिटामिनको प्रयोग गर्नुपर्छ भनेर बारम्बार भन्दा मानिसहरूले विश्वास गर्छन्, जन हपकिन्स विश्वविद्यालयका प्राध्यापक एडगर मिलर भन्छन्, त्यसैले अब यस्ता भिटामिनजन्य औषधिहरू आवश्यक छैन भन्नै पर्छ।
भिटामिन, क्याल्सियम आदि बनाउने कम्पनीका मालिकका परिवारले चाहिँ पक्कै पनि यस्ता भिटामिनका झोल खाँदैनन्। किनभने, उनीहरूलाई पनि थाहा हुन्छ कि यसको त्यति धेरै आवश्यकता छैन भन्ने कुरा। तर, अन्य मानिसलाई बेच्दा उनीहरूको अर्थतन्त्र बढ्छ। त्यति मात्र होइन, तुलनात्मक हिसाबले सबैभन्दा धेरै कमिसन पनि यस्तै भिटामिनहरूमा दिने गरिन्छ। नेपालमा जुनसुकै औषधि पसलमा जाँदा राम्रोसँग सजाइएको विभिन्न किसिमका भिटामिनका सिसी देखिन्छन्। त्यसैगरी भोक बढाउने, खाना पचाउने अनेक किसिमका औषधि सजाइएका हुन्छन् जुन आवश्यक नभए पनि हामी किनिरहेका हुन्छौं। तर, भिटामिनले भरिपूर्ण भएको पौष्टिक खाना ज्वानोको झोल, तरुल, आलु, पालुंगो भने पर्याप्त खानैपर्छ।
आइरन चक्की र भिटामिन बी का चक्कीको सट्टा दाल, भात, गन्द्रुक, मकै, चनाबाटै त्यो प्राप्त गर्न सकिन्छ। भोजन नै औषधि हो भन्ने सिद्धान्त कार्यान्वयन गर्न सके थप भिटामिनको आवश्यकतै पर्दैन। क्याल्सियम ज्वानो र दहीबाट प्राप्त गर्न सकिन्छ। ज्वानो सस्तो तथा भिटामिनले भरिपूर्ण भएको वस्तु हो। एक चियाचम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ। ज्वानोमा रहेको यही विशेषताले गर्दा सुत्केरी महिलालाई ज्वानोको झोल ख्वाउने चलन रहिआएको हो। ज्वानोको प्रयोगले कुपोषणको सिकार भएका बालबालिका, लामो बिमारीपछि उठेका बालबालिका, वृद्धाहरू, गर्भवती महिला सबैलाई इदा पुर्याउँछ। तर अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ । तर महँगा क्याल्सियमका चक्की भने मजासँग खुवाइन्छ ।
भिटामिन मानव शरीरका लागि नभई नहुने तत्त्व हो । भिटामिन दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कमैलाई थाहा हुन्छ । हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलले त्यसको पूर्ति हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान जान्छ । गर्भवती र सुत्केरी आमालाई सबै पौष्टिक तत्त्व एवं भिटामिन बढी चाहिन्छ । तर ती आवश्यक तत्त्वहरू प्राकृतिक भोजनमै हुन्छन् । तर, आमाहरू बच्चालाई भिटामिन झोल र टनिक दिएर सन्तुष्ट हुन्छन् । बच्चालाई पोषण दिइरहेको ठान्छन् तर कमैलाई थाहा छ– भान्छामा भएको भोजन नै सबभन्दा उपयुक्त हुन्छ । पाचन रस प्राप्त गर्न टाढा जानै पर्दैन । मेवामा रहेका पर्याप्त तत्त्वहरू नै खानेकुरा पचाउन पर्याप्त छन् ।
प्रायः मानिस घरमा फलेको मेवा खान छाडेर औषधि पसलमा गएर पचाउने औषधि, विभिन्न भिटामिनका झोल, शक्ति दिने झोल, सुत्केरी महिलालाई दूध बढाउने झोल, बालबालिकालाई भोक लगाउने झोलका बट्टा किनेको पाइन्छ । ‘नजिकको तीर्थ हेला’ भनेझै आफूसँग भएको उपयोगी फलफूलको बेवास्ता गरेर त्यसको सट्टामा महँगा झोलहरू किन किन्ने ?