हामीमध्ये कतिले प्याकेटमा पाइने ‘ब्रेकफास्ट सिरियल’, बट्टामा पाइने फलफूलको रस, दूधमा मिसाइने ‘क्याल्सियमयुक्त’ भनिने पोषक-पूरक आदि छनोट गर्छौं।
भिटामिन, क्याल्सियम र प्रोटिन थपिएको भनी प्याकेटमा लेखिएकै आधारमा हामी ती खानेकुराले बच्चालाई फाइदा गर्छ भन्ने सोच्छौं । वास्तवमा यस्ता खाना स्वस्थकर हुँदैनन्। प्याकेट र बट्टाका खानेकुरा स्वस्थकर नभएर खाद्य पदार्थरूपी तत्त्व (इडिबल फुड लाइक सब्स्ट्यान्स) मात्र पनि हुन सक्छन्। विशेषज्ञहरूका अनुसार, यस्ता प्रशोधित खाद्य पदार्थ सामान्यतया एकैचोटि धेरै मात्रामा उत्पादन गरिन्छ। कम्पनीले तिनलाई बेच्न स्वास्थ्यवर्द्धक रहेको दाबी गर्दै भ्रमपूर्ण विज्ञापन गरेका हुन्छन्।
यस्ता सामग्रीमा खाद्यान्न बाहेक अन्य अखाद्य कुरा पनि मिसाइएका हुन्छन्। अति प्रशोधनका कारण त्यस्ता खानेकुराको मौलिक तत्त्व नष्ट भइसकेको हुन्छ। उदाहरणका लागि, स्वस्थकर ब्याक्टेरियाको सहयोगमा दूधबाट दही बन्छ। दही स्वस्थ खानेकुरा हो। तर, बजारका अधिकांश दहीमा कृत्रिम रङ्ग र सुगन्धका साथै लामो समय ताजा राख्न विभिन्न रासायनिक तत्त्व मिलाइएको हुन्छ। अत्यधिक चिनी वा विकल्पमा ‘हाई फ्रुक्टोज कर्न सिरप’ जस्ता तत्त्व त्यसमा हालिन्छन्। यस्तो दही खाँदा स्वादिलो भए पनि त्यसले स्वास्थ्यलाई बेफाइदा गर्छ।
प्रोटिन, भिटामिन, मिनरल्स आदि रहेको भनिएका प्याकेट-बन्द खानेकुरा बच्चालाई खुवाउँदा अभिभावक ढुक्क बन्छन्। तर, तिनमा के-कस्ता पदार्थ प्रयोग गरिएका छन् भन्नेबारे ध्यान दिएका हुँदैनन्। खानाका नामले पनि भ्रमित भइराखेका हुन्छौं हामी। स्वस्थकर भनेर खैरो पाउरोटी खोजिरहेका हुन्छौं। अप्रशोधित गहुँबाट बन्ने यस्तो पाउरोटी तुलनात्मक रूपमा बढी पौष्टिक हुन्छ। तर, खैैरो देखिने सबै पाउरोटीमा अप्रशोधित गहुँ नहुन सक्छ। त्यसमा खैरो रङ्ग मात्रै हालिएको पनि हुन सक्छ।
स्वास्थ्य विशेषज्ञहरूको सुझावले पनि हाम्रो खाना छनोटमा फरक पारिदिन्छ। विशेषज्ञले आलसको बीउ स्वास्थ्यका लागि राम्रो हुन्छ भने हामी त्यही बीउ भएको मल्टिग्रेन पाउरोटी किन्नतिर लाग्छौं। तर, सस्तोमा पाइने आलस प्रयोग गर्दैनौं। जबकि, आलसको बीउ भएको भनिएका सबै पाउरोटीमा त्यो नहालिएको हुन सक्छ।
चिनीमुक्त भनिएका चकलेट, मिठाई, बिस्कुट हामीलाई फाइदाजनक जस्तो लाग्छ। तर, तिनमा चिनीको विकल्पमा माल्टोज, सुक्रोज र अन्य रसायन हालिएका हुन सक्छन्। यस्ता तत्त्वले शरीरमा चिनीको मात्रा (ब्लड सुगर) बढाउनुका साथै स्वास्थ्यमा अन्य प्रतिकूल प्रभाव पारिदिन्छन्। अर्कातिर, नुनिलो बिस्कुट चाहिं चिनीमुक्त हुने भ्रम पर्न सक्छ। तर, त्यो प्याकेटमा राखिएको सामग्रीको सूची हेर्यौं भने अक्सर चिनी पनि हुन्छ। त्यसैले जति स्वस्थकर भनेर विज्ञापन गरिए पनि बिस्कुट, पाउरोटी हाम्रो विकल्प हुन सक्दैन।
अहिले संसारमै आधुनिक खाना खाने प्रचलन आइसक्यो। नयाँ पुस्ताको खाने शैली र संस्कृति हजुरबुबा-हजुरआमाको भन्दा धेरै फरक छ। व्यस्त जीवनशैलीका कारण हामी पकाउन नपर्ने वा छिटो पकाउन मिल्ने विकल्प खोज्दै छौं । दुःखलाग्दो कुरा, हामी सानो छँदा खाजामा सिङ्गै मकै पोलेर वा उसिनेर खान्थ्यौं, तर अहिलेका बच्चाहरूमा कर्नफ्लेक्स खाने चलन बढेको छ।
किनमेल गर्दा आफ्नो मूल रूपमा भएका खाना छानौं। जस्तै: अम्बाको रसको साटो अम्बा। बालबालिका र आफ्नो पोषणका लागि बट्टाको भन्दा दूध, दाल, अण्डा, सागपात, तरकारी, मही जस्ता घरकै खाना खाऔं। यसो गर्दा स्वास्थ्य र पैसा दुवै जोगिन्छ। परम्परागत खाना नै बढी लाभदायक हुने विभिन्न अध्ययनले पुष्टि गरेका छन्। त्यसैले अहिले हजुरबुबा/हजुरआमाकै वेलाको जस्तो खाना जुटाउन सकिंदैन भने पनि स्वस्थ र पौष्टिक खाना रोजौं।
पहिलेकै जसरी स्वस्थकर कोदो र फापरलाई भोजनको हिस्सा बनाऔं। पहिले मौसम अनुसारको खाना हुन्थ्यो। स्थानीय रूपमा उत्पादित खानेकुरा खाइने भएकाले त्यो सस्तो र स्वस्थ दुवै हुन्थ्योे। खाना घरमा प्रायः ताजा पकाइएको हुन्थ्यो। प्याकेट खोलेर तुरुन्त खान मिल्ने आलु चिप्स, बिस्कुट, चाउचाउ जस्ता सामग्रीमा भने अत्यधिक नुनरचिनी र रसायन मिसाइने भएकाले अस्वस्थकर हुन्छन्। त्यसैले के खाने भन्ने निणर्य गर्दा खानाको पोषण-मूल्यलाई सधैं विचार गरौं।