काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मकसंगै निदानात्मक सेवालाई पनि संचालन गर्ने तयारी भइरहेको बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालको नव-निर्वाचित समितिलाई बधाई तथा शुभकामना प्रदान गर्न मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य पत्रकारलाई बधाई दिँदै उक्त कुरा जानकारि गराएका छन् । नेपालमा पछिल्लो समय बिरामीहरूको संख्या बढ्दै गइरहेकोले निरोधात्मक क्षेत्रमा काम गर्नु पर्ने औल्याएका छन् ।
“सरकारले रोग लागेका विरामीलाई उपचारात्मक सेवा प्रदान गरिरहेको छ,” उनले भने, “तर रोग लाग्नु भन्दा अगाडि पनि सचेतना कार्यक्रम संचालन गर्नका लागि निदानात्मक सेवा आवश्यक छ ।” राज्यले निरोधात्मक भन्दा उपचारात्मक क्षेत्रमा बढी ध्यान दिएकाले पछिल्लो समय बिरामीको सङ्ख्या बढिरहेको हुदाँ सोही अनुपातमा सङ्ख्या बढिरहँदा बिरामिले राम्रोसँग उपचार पाउन सक्ने अवस्था नरहने भएकाले अहिलेको अवस्थामा सचेतना वृद्धि गर्ने र रोग नै लाग्न नदिने गरी काम गर्न आवश्यक रहेको बताएका हुन् ।
मन्त्री पौडेलले मानिस रहरले बिरामी नहुने बताउँदै नागरिकलाई रोगहरु लाग्न नदिने विषयमा सचेत गराउन सके बिरामी हुनेको संख्या कम हुने बताए । उनले बिरामी भएका नागरिकको उपचार गर्नुपर्ने दायित्व सरकारको भएतापनि अब निदानात्मक कार्यक्रममा जोड दिनु पर्ने बताए । यसकालागि मन्त्री पौडेलले सरकारले तोकेका ५ तहका अस्पतालमा एउटा तहलाई निदानात्मक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको जानाकरी दिए ।
पछिल्लो समय शारीरिक भन्दा पनि मानसिक बिरामी बढ्दै गएले त्यसलाई रोक्न सचेतना अभिवृद्धि गर्नुपर्ने उनले बताए ।
स्वास्थ्य पत्रकार मञ्च, नेपालका अध्यक्ष भिषा काफ्लेले स्वास्थ्यमा लेख्ने पत्रकारहरु र सरकारको ध्येय साझा रुपमा नागरिकलाई स्वस्थ बनाउने रहेको हुँदा सहकार्य गर्न तयार रहेको बताए । उनले नीतिगत व्यवस्था गरी मञ्चलाई संस्थागत रुपमा नै दीर्घकालीन सहकार्यको प्रस्ताव गरेका थिए ।