काठमाडौं । आज विश्व क्यान्सर दिवस नेपालमा समेत विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने चिकित्सकहरू बताउँछन् ।
क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । खानपानमा ध्यान पुर्याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने धारणा चिकित्सकहरूको रहेको छ । डाक्टरले पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने भएकाले उपचार सम्भव हुने बताउछन् । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको सङ्ख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ ।
नेपालमा वर्सेनि १५ हजारको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तत्थ्याङ्क छ । सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको बताइएको छ ।
धुमपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले बताएका छन् ।
क्यान्सर हुनुका कारण
क्यान्सर अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत मुख्य कारण रहेको चिकित्सक बताउ छन् ।
“भातदाल तरकारी र अचार नखाएर हामी बढीजसो फास्टफुड, जङ्कफुड, धुम्रपान, मध्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा बासी खानेकुरा खाने गर्दर्छौँ, यसले क्यान्सरको जोखिम बढाउँछ”। खानपिन, आराम, व्यायाम, धुम्रपान, मध्यपान र मोटोपनलाई रोक्नसके क्यान्सरलाई कम गर्न सकिन्छ । शरीरको कोष तथा कोषिकाको समूह अस्वाभिक रूपमा वृद्धि हुनुलाई क्यान्सर भनिन्छ । यो एक प्रकारको गिर्खा वा ट्युमर पनि हो ।