काठमाडौं । प्रत्येक फ्रुबअरी ४ का दिनलाई वल्र्ड क्यान्सर डेको रुपमा मनाइदैं आइएको छ । क्यान्सर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संघ (यूआईसीसी) को पहलमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।
मेडिकल अंकोलोजिष्ट डा बिजेस राज घिमिरेका अनुसार सुरुवाती चरणमा पत्ता लगाउन सकेको खण्डमा क्यान्सरलाई पूर्ण रुपमा निको बनाउन सकिन्छ। नेपालले क्यान्सर रोग उपचारको निदानका लागि अझै धेरै काम गर्न बाँकी रहेको छ। हरेक वर्ष १ करोड ४१ लाख क्यान्सरका नयाँ रोगी थपिन्छन्। अनि प्रत्येक वर्ष ८२ लाख मानिसले क्यान्सरका कारण ज्यान गुमाउने गरेको डब्लूएचओको तथ्याङ्कले देखाउँछ।
उनि भन्छन् संसारमा धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन मात्रै नगरेमा ३३ प्रतिशत क्यान्सर रोगीहरुको संख्या घट्ने देखिन्छ। क्यान्सर अन्य रोगको तुलनामा भिन्नै छ।
क्यान्सर रोग बिशेषज्ञ डा प्रकासनिधि तिवारि भन्छन् विश्वमा प्रत्येक मिनेट १७ जनाको मृत्यु क्यान्सरका कारण भइरहेको छ । हामीले कुराकानी गर्दागर्दै पनि केही मानिसको क्यान्सरकै कारण मृत्यु भइरहेको हुन्छ । यसकारण क्यान्सर सचेतनासम्बन्धी विभिन्न कार्यक्रम र गतिविधिको औचित्य र महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ । क्यान्सरको जोखिम र यसको छिटो निदान आवश्यक छ । यसपछि सही उपचार विधिको महत्व पनि उत्तिकै छ ।
क्यान्सर रोग बिशेषज्ञ डा आरति शाहाका अनुसार विश्वमा क्यान्सरको कारण हुने मृत्युमध्ये फोक्सो पछि स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । नेपालको सन्दर्भमा भन्नुपर्दो भने क्यान्सरबाट हुने मृत्युमध्ये सबैभन्दा बढी पाठेघरको क्यान्सर कारण तथा दोस्रोमा स्तन क्यान्सर रहेको छ । पहिलो र दोस्रो चरणका स्तन क्यान्सरका बिरामीहरुलाई पूर्ण रुपमा नै निको बनाउन सकिन्छ । तेस्रो चरणको क्यान्सर निको हुने दर २० देखी ३० प्रतिशतसम्म रहेको छ भने चौथों चरणको क्यान्सरलाई भने निको बनाउन सकिदैंन । त्यसैले सुरुवाती चरणमा पत्ता लगाउन सकेको खण्डमा क्यान्सर निको बनाउन सकिन्छ।
बाल क्यान्सर रोग बिशेषज्ञ डा बिष्णु गिरि भन्छन् वयस्क व्यक्तिमा हुने विभिन्न खालका क्यान्सर रोकथाम गर्न सकिन्छ। तर बालबालिकामा हुने क्यान्सर रोकथाम गर्न सकिँदैन। त्यसैले बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको छिटो पत्ता लगाउने र छिटो उपचार गर्ने नै हो। बालबालिकामा हुने क्यान्सरको जति छिटो उपचार गर्यो, त्यति नै छिटो निको हुने सम्भावना रहन्छ। क्यान्सरको उपचार सफल भएका बालबालिका ६०/७० वर्षसम्म बाँच्न सक्छन्। त्यसैले बालबालिकाकको क्यान्सरको उपचार खर्चमा सहयोग गर्न राज्यको लागि पनि राम्रो हुन्छ।
क्यान्सरबाट बच्ने उपाय
क्यान्सर हुने खासकारण थाहा नभएकोले सबै प्रकारका क्यान्सहरुबाट बच्न सकिन्छ भन्ने नभएता पनि विभिन्न उपाय अपनाएर केही हदसम्म क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ ।
- धुम्रपान तथा सुर्तिजन्य वस्तु सेवन नगर्ने
- खानपानमा ध्यान पुर्याउने
- पर्याप्त व्यायाम गर्ने
- जीवनशैली परिवर्तन
- बोसोयुक्त मासु नखाने
- तारेको, पोलेको खाना नखाने
- नुन तथा पुराना अचार कम खाने
- समयमै बच्चा जन्माउने
- बच्चालाई स्तनपान गराउने
- नियमित स्वास्थ्यपरिक्षण गराउने
- सरसफाईमा विशेष ध्यान दिने