जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको पिराडीचोकमा अवैध ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पताल बन्द गर्नका लागि निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले अवैध तथा अनधिकृत ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पतालमा बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको खबर सार्वजनिक भएपछि गए राति अस्पतालको अनुगमन गरेर अस्पतालमा उपचारमा रहेका बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्नका लागि निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले विधि र प्रक्रियाअनुसार सम्बन्धित निकायबाट अनुमति लिई अस्पताल सञ्चालन नभएको पाएकाले अस्पताल सञ्चालकलाई अस्पतालमा उपचार गराइरहेका बिरामीलाई तत्काल व्यवस्थित ढङ्गले अभिलेख बनाएर अन्य अस्पतालमा पठाउनका लागि निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहले अस्पतालमा ताल्चा लगाएर सरकारलाई साँचो बुझाउन सो अस्पतालका सञ्चालकलाई निर्देशन दिए । मुख्यमन्त्रीले अनुगमन गरेको अस्पतालमा तीनजना बिरामी भर्नामा रहेका थिए ।
यसअघि सोही अस्पतालमा पित्त थैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका वडा नंं ५ की २५ वर्षीय बबिताकुमार यादव अहिलेसम्म बेहोस अवस्थामा जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचाररत रहेकी समाचार विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि मुख्यमन्त्री सिंहको गम्भीर ध्यानाकर्षण भएर कानून विपरितको सो अस्पतालमा अनुगमन गरेका छन् ।
अस्पताल सञ्चालक आफैँले त्यसो नगरेको खण्डमा सरकारले आफ्नो टोली पठाएर कारबाही गर्ने चेतावनी मुख्यमन्त्री सिंहले दिए । मुख्यमन्त्री सिंहले शुक्रबार साँझ पनि मुस्कान अस्पतालमा पहिलो पटक अनुगमन गर्दा सञ्चालकसँग भेट नभएपछि फर्किएका थिए ।
पहिलो पटकको अनुगमनमा उनले अस्पतालमा एकजना स्टाफ नर्स र एकजना सिएमएका भरमा अस्पताल सञ्चालन भएको पाएका थिए । दोस्रोपटक राति १० बजेर ३० मिनेटमा सो अस्पताल पुगेका मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालकसँग मापदण्डअनुसार चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचनाबारे जिज्ञासा राख्दै अस्पताल सञ्चालनका लागि आवश्यक कागजपत्र अध्ययन गरेएका थिए ।
अस्पतालले स्वीकृति नलिएको र जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना अनुपयुक्त भएको पाएपछि मुख्यमन्त्री सिंहले गम्भीर चिन्ता व्यक्त व्यक्त गर्दै सम्बन्धित संस्थाबाट स्वीकृति नलिई सञ्चालनमा रहेका निजी अस्पताललाई मापदण्ड पुरा गर्न मधेश प्रदेश सरकारले पटक पटक ताकेता गर्दा मधेश प्रदेशका कतिपय अस्पतालहरू अटेर गर्दै आएका छन् ।