काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय डायबिटिज कन्फरेन्स हुने भएको छ। धन योगा फाउन्डेसन, अमेरिकाले डायबिटिज एन्ड इन्डोक्राइनोलोजी सोसाइटी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एनसिडी अलायन्ससँगको सहकार्यमा आगामी फागुन १७ गते (मार्च १) मा अन्तर्राष्ट्रिय डायबिटिज कन्फरेन्स काठमाडौंमा हुन लागेको हो।
आईतबार पत्रकार सम्मेलन गर्दै दक्षिण एशियामा बढ्दो मधुमेहको समस्यालाई मध्येनजर गर्दै नेपालमा उक्त सम्मेलन गर्न लागिएको नेपाल एनसीडी अलायन्सका डा प्रज्वल प्याकुरेलले जानकारी दिए। एक दिने उक्त सम्मेलन काठमाडौंको रोयल टुलिप-द मेसीफ होटलमा हुन लागेको बताए ।
उक्त सम्मेलनमा मधुमेहको उपचार तथा रोकथाम र अनुसन्धानका लागि विश्वभरमा भइरहेका कामका बारेमा कार्यपत्र प्रस्तुत हुने साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने डा प्याकुरेलले जानकारी दिए। सम्मेलनमा हुने छलफल र त्यसबाट निस्किएका निष्कर्षले नेपालमा मधुमेहको अवस्था र अब राज्यले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास लिएको बताए ।
सम्मेलनमा नेपालका साथै विश्वका प्रतिष्ठित प्राध्यापक तथा चिकित्सकहरुले भाग लिनेछन्। भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इन्डोक्राइनोलोजी विभाग (युनिट १) प्रमुख डा नितिन कपुर, डा निहाल थोमस, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा राजु पन्त, अमेरिकाबाटै डा अजय चौधरी, प्राडा मेरेडिथ हकिन्स, डा राल्फ डेफरेन्जो, विश्वा स्वास्थ्य संगठनबाट डा ग्याम्पो दोर्जी सहभागी रहने छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा रोबिन मास्के, नेपाल एनसीडी अलायन्सका डा प्रज्वल प्याकुरेल र नेपाल विकास समाजका डा श्वेता कोइरालाको समेत सहभागीता रहने छ ।