एउटी कामकाजी महिला छिन्। घरको काम र जगिरका साथै उनी अन्य सामाजिक क्रियाकलापमा पनि सरिक हुन्छिन्। उनलाई लाग्छ, उनले हेरिनन् भने सबै कुरा लथालिङ्ग हुन्छ, सबै ठाउँमा उनले नै भ्याउनुपर्छ। त्यसैले भ्याउँछिन् पनि। जीवनका यी तमाम क्रियाकलाप र तिनबाट हुने शारीरिक र मानसिक थकानबारे उनी कसैसँग पनि कुरा गर्दिनन्। किनभने उनलाई मानिसले ‘जागिर खाएकी महिलाको बढी किचकिच गर्ने बानी हुन्छ, अन्य सबै महिलाले पनि त काम गरेकै छन् नि’ भन्छन् भन्ने लाग्छ।
यस्ता वाक्य सुन्नुपर्ने डरले उनी आफूले नै सबै गर्न सक्ने देखाउँछिन्। तर थाहै नपाइकन ४० वर्ष नपुग्दै उनलाई टाउको दुख्ने, रिँगटा लाग्ने, भोक कम हुने समस्या देखा पर्छ। उनी डाक्टरकहाँ जान्छिन्। रक्तचाप निकै माथि पुगेको हुन्छ। एक हप्तापछि जाँदा पनि उनको उच्च रक्तचापमा कुनै कमी आएको देखिँंदैन। त्यसपछि औषधि नै खानुपर्छ भन्छन्। औषधिले रक्तचाप कम हुन्छ, टाउको दुख्न पनि कम हुन्छ तर ससानो कुरामा रिस उठ्ने, कसैसँग बोल्न मन नलाग्ने, कतै जान मन नलाग्ने, सबै काम बोझ लाग्ने तर पनि गरिरहनुपर्ने जस्ता समस्याचाहिँ यथावत रहन्छन्।
उनी उच्च रक्तचापको बिरामी भएको सबैलाई थाहा हुन्छ तर उनका अन्य समस्या भने उनीभित्रै सीमित रहन्छ। सहरीकरणसँगै मानिसको बानी–व्यवहार बदलिँंदै जान्छ। परिवार र व्यक्ति एक्लिने प्रक्रिया बढ्दै जान्छ र समस्या पनि एक्लैले समाधान गर्नुपर्ने हुन जान्छ। त्यसपछि दैनिक जीवनका तनावलाई अलिअलि गर्दै झेल्दै जानुपर्छ र ससाना तनाव जम्मा हुँदै गएर यसले थाहा नपाइकन ठूलो रूप लिन्छ। परिणाम, अनेक किसिमका शारीरिक समस्या देखा पर्छन्।
लामो समयसम्म तनाव भइरहेमा पछि मानसिक रोग, जस्तै– अवसादमा परिणत पनि हुन सक्छ। त्यसैले उच्च रक्तचाप, मुटुको रोगले ‘आधुनिकताको रोग’ को संज्ञा पाएका छन्। पश्चिमा जगत्मा भौतिक सुख सुविधासँगसँगै विशेषगरी सहरी क्षेत्रमा यिनको प्रकोप बढ्दो छ। अमेरिकाको ओहियो विश्वविद्यालयका मनोवैज्ञानिकले पत्ता लगाएअनुसार लगातारको रिस, आवेग र आक्रोशले मुटुका कोषहरू बिगार्छ। शरीरमा नराम्रोखालको बोसो बढाउँछन्।
रिस उठ्दा वा आवेगमा आउँदा मुटुको धड्कन बढ्न जान्छ, शरीरको एड्रेनालिन नामक तनावजन्य आन्तरिक रस बढ्छ। एड्रेनालिनले रक्तचाप बढाउँछ र जसबाट शरीरका कोषिकामा भएको कोलेस्टेरोल रगत प्रभावित हुन्छ। ‘रिसाएको, तनाव वा दबाबमा भएको मानिसको र लगातार नकारात्मक सोचाइ राख्ने मानिसको रगतमा हामीले एडे«नालिनको मात्रा बढी पाएका छौं,’ डा। विलियम भन्छन्। जसले एङ्गर किल्स ९रिसले मार्छ० भन्ने किताबै लेखेका छन्।
जाँचका बेलामा विद्यार्थीलाई पखाला लाग्ने, वाक्वाकी हुने, बिरामी हुने जस्ता समस्याले सताउँछ। प्रायः यसको कारण बढी पढ्नुलाई ठानिन्छ। खासमा त्यो बढी पढेर होइन, मानसिक चिन्ता र तनावले गर्दा भएको हो। लगातार चिन्ता र तनावले गर्दा मुख सुक्खा हुने र पेटका विभिन्न रसले राम्रोसँग काम गर्दैन। अनि खाएको राम्रोसँग नपच्ने, सौच लागिरहने, पेट दुख्ने, पेटमा घाउ हुने आदि पनि हुन्छ।
वास्तवमा पश्चिमा वैज्ञानिकले सिद्ध गरिसकेका छन् मानिसका चिन्ता, पीर, खुसी, सकारात्मक र नकारात्मक भावना सबैले शरीरका कोषिकामा असर पार्छन्। त्यही कारणले गर्दा मानवीय भावनासँग शरीरभित्रको हर्मोन ९आन्तरिक रस० पनि बढ्ने वा घट्ने प्रक्रिया हुन्छ। ‘मानसिक चिन्ताले ग्रस्त व्यक्तिहरूमा रोग प्रतिरोधात्मक शक्ति पनि कम हुन्छ’, चिकित्सा विज्ञानमा नोबेल पुरस्कार प्राप्त गर्ने न्युरोबायोलोजिस्ट रिता भी मान्टालसिनी बताउँछिन्– ‘यसबारे हामीलाई पहिलादेखि नै थाहा भए तापनि कोषिकाहरूको अनुसन्धान गर्न सकेका थिएनौँ तर हाल आएर विभिन्न अनुसन्धानबाट के देखिएको छ भने मानसिक तनावले विभिन्न कोषिका, ग्रन्थी र अङ्गहरूमा ठूलो प्रभाव पार्छन्।
मानसिक तनाव शत पतिश्त नै त हटाउन सकिँदैन तर कुनै समस्यालाई तपाईं कसरी हेर्नुहुन्छ भन्ने दृष्टिकोण फरक पारेर पनि चिन्ता र तनावबाट केही हदसम्म बच्न सक्नुहुन्छ। मानसिक तनाव कम गर्ने अर्को उपाय हो– शारीरिक व्यायाम। बिहान–बेलुका हिँडाइले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्छ भन्ने विभिन्न अनुसन्धानले बताएका छन्। हिँड्दा, दौडँदा, खेल्दा, हाँस्दा शरीरमा सकारात्मक रसहरू पैदा हुन्छन्। तिनले शारीरिक तनावबाट पैदा हुने विषालु तत्त्वका असर हटाउनमा मद्दत गर्छन्। त्यस्तै योग साधना पनि सहायक हुन सक्छ। धर्ममा आस्था छ भने मन्दिरमा गएर भजन सुन्ने, आफैँ भजन गर्ने आदिले पनि तनाव घटाउने काममा सहयोग गर्छन्