नेपालगञ्ज । बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा छ । १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइले रोगका संक्रमित भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.२ प्रतिशतसम्म मानिसहरू संक्रमित भेटिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले बताए ।
सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको महतोले बताए । सन् २००३ देखि सुरु भएको आम औषधि सेवन अभियानबाट सन् २०२० मै लक्ष्य हासिल गर्ने उद्देश्य राखिए पनि सम्भव नभएपछि लक्ष्य लम्बिएको हो । नेपालमा अब बाँके जिल्लामा मात्र औषधि खुवाउनुपर्ने अवस्था भएका कारण १४औँ पटक आम औषधि सेवन कार्यक्रम सुरु गर्न लागिएको उनको भनाई छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिकाले आज नेपालगञ्जमा आयोजना गरेको हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानको अभिमुखीकरण, योजना तथा तर्जुमा गोष्ठी कार्यक्रममा महतोले आम नागरिकले औषधि सेवन नगरिदिएका कारण बाँकेका तीन पालिका उच्च जोखिममा रहेको बताए ।
बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि नै खाएका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुगेकै छैन । औषधि सेवन दर ८० प्रतिशत नपुग्दासम्म त्यसको प्रभाव नरहने चिकित्सकहरू बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न गोष्ठीमा भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा। राजन पाण्डेले औषधिको प्रति असर नरहेको र यी औषधि लामो समयदेखि प्रयोग हुँदै आएका औषधि भएकाले निर्धक्कका साथ सेवन गरी नेपाललाई हात्तीपाइले रोग मुक्त देश बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए। उनले अफवाह फैलाउने विरुद्ध कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।
सर्वेक्षण अनुसार नेपालगञ्जमा ३३.२८ प्रतिशत मानिसले औषधिको साइड इफेक्ट हुने डरका कारण तथा ३२.५३ प्रतिशत मानिसले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन् । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा। यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रुपमा देखिएकाले यो पटक गम्भीरतापूर्वक लागिदिन सबै सरोकारवालालाई आग्रह गरे । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य शाखा प्रमुख गोकर्ण दाहालले १३ पटकसम्म औषधि खुवाउँदा पनि बाँकेमा मात्र जोखिम देखिनुको मुख्य कारण औषधि सेवन नगर्नु नै रहेको बताए । उनले अब बाँकेमा एक महिनासम्म अभियान चलाएर सबै सरोकारवालाहरू गम्भीरताका साथ नलागे लक्ष्य हासिल गर्न कठिनाइ हुने बताए ।
बाँकेमा फागुन ५ गतेदेखि औषधि खुवाउने तयारी गरिएको छ । हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रुपमा असक्त, असमर्थ तथा अपाङ्गता बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट संक्रमण भएपछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । एक पटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा ४ देखि ६ वर्षसम्म रोग अरूलाई सर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो ।