काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो साता वायु प्रदूषणमा वृद्धि देखिएको छ। शनिबार राति काठमाडौंको वायुमण्डलमा वायु गुणस्तर सूचकांक (एक्यूएआई) १६९ पुगेको थियो। यसका साथै माघ महिनाको अन्त्य र फागुन महिनाको आरम्भमा पनि वायु प्रदूषणको स्तर उच्च रह्यो। माघ २७ र २८ गते १६४, माघ २९ मा १५९, माघ ३० मा १६०, फागुन १ मा १६३ र फागुन २ मा १६९ एक्यूएआई देखिएको थियो।
सामान्यत: एक्यूएआई ५० भन्दा तल हुने स्थिति सन्तोषजनक मानिन्छ, जबकि १५० भन्दा माथि वायु प्रदूषण मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ। एक्यूएआई १५० देखि २०० हुँदा श्वास प्रश्वाससम्बन्धी समस्या भएका र पाको उमेरका मानिसहरूलाई बढी असर पुर्याउँछ। २०१ देखि ३०० एक्यूएआई बीचको स्तरले सबै उमेर समूहका मानिसहरूको स्वास्थ्यमा जोखिम बढाउँछ, र ३०१ देखि ५०० को स्तरले आपत्कालीन अवस्था जनाउँछ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार हावामा पीएम (पार्टिक्युलेट म्याटर) २.५ को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसको कम हुनुपर्ने हुन्छ। तर शनिबार साँझ काठमाडौंमा पीएम २.५ को मात्रा ७८ थियो, जुन डब्लूएचओ मापदण्डको १५.६ गुणा बढी हो। यसले गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावना रहेको विज्ञहरूको भनाइ छ। हालैको एक्यूएआई आँकडाअनुसार, वायु प्रदूषण उच्च भएका सहरहरूमध्ये चीनका वुहान र शाङ्घाई, म्यानमारको याङ्गुन, भारतका कोलकाता र नयाँ दिल्ली, र बंगलादेशको ढाका पनि छन्।
वायु प्रदूषण विज्ञका अनुसार, काठमाडौं उपत्यकामा वर्षा नहुँदा प्रदूषण थुप्रिएर बसेको छ। पानी नपरेका कारण प्रदूषणको स्तर बढेको र यो अझै बढ्न सक्ने आशंका छ।