काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक (सिनेट) ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड २५ लाख १२ हजार ९६७ रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको प्रस्ताव तयार गर्न रजिष्ट्रार प्रा श्याम लम्सालको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना महाशाखाको प्रतिनिधि सम्मिलित तीन सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरिएको छ।
सभामा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति प्रदिप पौडेलले उपचार सेवालाई अझ विस्तार गर्न, शैक्षिक कार्यक्रम थप गर्न एवं सिकलसेल एनिमिया लगायतका रोगको उपचार सेवा लिन अन्यत्र जानु नपर्ने अवस्था सिर्जना गर्ने गरी सेवालाई व्यवस्थित गर्न निर्देशन दिएका छन्।
प्रतिष्ठानले हाल तीन सय ३० बेडको व्यवस्थाअन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकामा आगामी दिनमा चार सय बेडको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको छ । सोका लागि अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढेको छ । यस्तै बैठकले अस्पतालको सेवा विस्तार, शैक्षिक कार्यक्रम सञ्चालन, अनुसन्धान तथा तालीम र सामुदायिक स्वास्थ्य सेवा विस्तार सम्वन्धी नीति, कार्यक्रम तथा योजना समेत स्वीकृत गरेको छ ।
सभाले रिक्त सभा सदस्यमा बलिभद्र राना, प्रकाश श्रेष्ठ, यमुना थापा मगर, शुशीला चौधरी र सुदिप गौतम लगायत १२ जनालाई मनोनयन गर्ने निर्णय समेत गरेको छ।