झापा । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् ।
जिल्लामा २७ बालबालिकासहित ६१६ जना नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिए । जसमा ३७९ पुरुष र २१९ महिला छन् ।
उनका अनुसार चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३ सय ७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १ सय ५१ नयाँ बिरामी फेला परेका छन् । क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेका उनले बताए ।
आर्थिक वर्ष २०७९/०८० मा एक हजार ४५ र आव २०८०/८१ मा एक हजार २६० नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उनले पछिल्लो समय झापामा क्षयरोगीको सङ्ख्या बढ्दै गएको बताए ।
“समुदाय स्तरमा गएर बिरामीको खोजी गर्ने हो भने रोगीको सङ्ख्या अझै बढ्छ”, उनले भने, “सरुवा रोग भएकाले विशेष अभियान चलाई बिरामीको खाजी गर्न जरुरी छ ।” नयाँ फेला परेका सबै बिरामीले नियमित औषधि सेवन गरिरहेको उनले बताए । जिल्लामा फेला नयाँ क्षयरोगी २५ वर्षदेखि ५५ वर्ष उमेर समूहका धेरै छन् । झापाको दमक र मेचीनगरको धुलाबारीमा क्षयरोगीको सङ्ख्या धेरै रहेको स्रोत व्यक्ति दास बताए ।
जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने क्षयरोगको औषधि बिरामीले छ महिनासम्म सेवन गर्नुपर्छ । औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक रु ५ सय प्रोत्साहन रकम दिने गरिएको छ । सङ्घीय कार्यक्रमअन्तर्गत झापाका तीन पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियानसमेत सञ्चालित छ ।
सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।