काठमाडौं। नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार हेल्थ टुडे पत्रिकाका सम्पादक दशरथचन्द नगरपालिका ९ बैतडीका पदमराज जोशीलाई प्रदान गरिएको छ ।कावासोती नगरपालिका २ स्थित लक्ष्मी नारायण मन्दिरमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले सो पुरस्कार प्रदान गरेका हुन् ।
गण्डकी प्रदेशसभा सदस्य गाहाले खानपानकै कारण क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई सचेत गराउन आवश्यक रहेको बताए । उनले स्वर्गीय राधाले सुरुवात गरेको अभियानले समाजमा ऊर्जा थपको बताए । उनले रोग लागिसकेपछि भन्दा रोग लाग्नै नदिन सजग हुनुपर्नेमा जोड दिए । यस्ता खाले पुरस्कारले सचेतनामा लाग्न प्रेरित गर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताए । यस्तै कार्यक्रममा राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले क्यान्सरको जोखिम बढ्दै गएको बताए ।
सन् २०५०मा क्यान्सरको दर ९१ प्रतिशत बढ्ने भनेर प्रक्षेपण भइरहेका बेला सरकारले नियन्त्रणको उपयुक्त योजना बनाउन नसकेकोमा दुख व्यक्त गरे । क्यान्सर पीडितलाई औषधिसँगै पोषणयुक्त खानाको आवश्यक पर्ने भए पनि त्यतातर्फ राज्यले सोच नबनाएको बताए । उनले क्यान्सर पीडितलाई राख्नकालागि स्वास्थ्यकर्मी सहितको दिवा सेल्टर होम बनाउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । यस्तै हिंसामा परेका नागरिकहरू खेलेर आउनै नसको बताएका छन् । कतिपय अवस्थामा हाम्रा कानुनले समेत पीडितलाई न्याय दिन नसकेको उनले बताए । पिडकलाई कसने कानुन नहुँदासम्म पिडकहरू खुलेआम हिँड्ने गरेको उनको भनाइ छ ।
हिंसा गर्नेहरूलाई बहिस्कारको रणनीति लिनुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै औषधि वितरक संघ नवलपुरका सचिव राजु भुसालले क्यान्सर सचेतनाकालागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले करिब ९० प्रतिशत मानिस खानपानमा ध्यान नदिँदा क्यान्सरजस्तो घातक रोगको सिकार भएको बताए । धूम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ । उनले क्यान्सरको स्क्रिनिङमा सहभागी हुन समेत सबैलाई आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कोषाध्यक्ष भविश्वर पाण्डे , पत्रकार महासङ्घका जिल्ला अध्यक्ष श्रीराम सिग्देल लगायतले स्वर्गीय राधा बस्यालले लामो समयसम्म पत्रकारितामा पु¥याएको योगदानको चर्चा गर्दै क्यान्सर जस्तो भयावह रोगबाट बच्न जनस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताए । आफू रोगसँग लडिरहेको अवस्थामा पनि समाजप्रति गरेको राधाको योगदानलाई भुल्न नहुनेमा जोड दिए । विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो ।
एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी थिइन् । राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन् । काठमाडौंको न्यूरोडमा रहेको हनुमान ढोका सहकारीका व्यवस्थापक अस्मिन भट्टराईसँग २०७४ साल फागुन ३० गते राधालाई अस्मिनले शारीरिक र मानसिक यातना दिएका थिए । श्रीमानको कुटाइबाट थला परेकी राधा बिसन्चो भएपछि अस्पताल पुगेकी थिइन् । त्यसै बेला उनलाई स्तन क्यान्सर पुष्टि भएको थियो । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा तिन तिन महिनामा फलोअप गरिरहेकी थिइन् । राधा मृत्युको शय्यामा छटपटाइरहँदा उनको श्रीमानसँग सम्बन्ध विच्छेदको मुद्धा पनि चलिरहेको थियो ।
अस्मिनकै नाममा स्टे अर्डर समेत जारी हुँदापनि कार्यान्वयन भने हुन सकेन । डाक्टरको सल्लाह र औषधि उपचारले राधा तङ्ग्रँदै पनि थिइन । त्यसबिचमा रोकिएको रेडियो पत्रकारिता फेरी सुरु गरेकी थिइन् । अस्पतालले क्यान्सरको चौथो स्टेजमा रहेको र बढीमा ६ महिना मात्र बाच्ने मिति तोकिसकेको थियो तर राधाको साहसले चिकित्सा विज्ञानलाई पराजित गर्दै थप साढे दुई वर्ष बाँचिन ।
त्यो अवधिभर राधाले धेरै पिडाहरूसँग जुध्नु परे पनि क्यान्सर सचेतना र महिला हिंसा विरुद्धको आवाज सञ्चार माध्यम लगायत स्वयंले पनि दिन सफल भइन फलस्वरुप राधा क्यान्सर सचेतना फाउन्डेसन जन्मिएको हो । बस्यालको निधनपछि फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिएका छन् ।