भात र रोटी हाम्रो आहारको महत्त्वपूर्ण हिस्सा हो । यी दुईबीचको युद्ध निकै पुरानो हो । भात र रोटीमा कुन राम्रो भन्ने बहस लामो समयदेखि हुँदै आएको छ । हामीले जुनसुकै खानेकुरा खान्छौँ त्यसबाट ऊर्जा प्राप्त हुन्छ । तर तौल घटाउन चाहनेहरूले तौल घटाउन विभिन्न उपाय अपनाउने गर्छन् । धेरैले क्यालोरी नियन्त्रण गर्ने पनि गरेका हुन्छन् । यस्तोमा कतिपय मानिस तौल घटाउन रोटी वा भातमा के खाने र के नखाने भन्ने दुविधामा रहन्छन् । धेरैले तौल घटाउने प्रयास गर्दै गर्दा अन्न खान छोड्छन् । यसो गर्नु ठीक होइन, किनभने खाना खान पुनः सुरु गर्दा तौल पहिलेको भन्दा पनि बढ्छ ।
जब शरीरको वजन घटाउने कुरा हुन्छ, तब भात वा रोटी कुन छनोट गर्ने मुस्किल हुन्छ । पूरै तरिकाले भात र रोटी दुवै त्याग्नु नै वजन घटाउने प्रभावकारी तरिका रहेको कयौंको मान्यता हुन्छ ।
तर, पोषण विशेषज्ञ कार्बोहाइड्रेट खान सल्लाह दिने गर्छन् । किनकी यसले शरीरमा ऊर्जा बढाउनुका साथै राम्रो निद्राको वातावरण पनि तयार गर्दछ । भोकलाई पनि कम गर्दछ । भारत र गहुँ दुवै अन्न हुन् । यी दुवैमा कार्बोहाइड्रेट र प्रोटिन समान मात्रामा पाइन्छ ।
एक सय ग्राम गहुँको आटामा ६९.४ ग्राम कार्बोहाइड्रेट पाइन्छ । यस्तै, १२.१ ग्राम प्रोटिन पाइन्छ । यस्तै, एक सय ग्राम भातमा ७८.२ ग्राम कार्बोहाइड्रेट र ६.८ ग्राम प्रोटिन हुन्छ । पोषण विशेषज्ञका अनुसार हाम्रो छनोटमा भर पर्ने बताउँछन् ।
हाम्रो चाहना र खानाको छनोट अनुसार नै शरीरले प्रतिक्रिया जनाउने गर्दछ । केही मानिस रोटीको तुलनामा भातलाई हल्का रुपमा लिन्छन् । यसकारण भात धेरै खाने गर्दछन् । समस्या यहीँबाट शुरु हुन्छ र वजन बढ्न पुग्छ । वजन बढ्नका लागि खाना जिम्मेवार नभई हाम्रो खाने बानी रहेको विशेषज्ञ बताउँछन् ।
कसरी खाने त ?
जो व्यक्ति भातलाई रोटीको तुलनामा हल्का रुपमा लिन्छन्, पेट भरिएन भने, भातसँगै दाल र तरकारीको मात्रा पनि बढाउन सक्दछन् । जसकारण उनीहरुको पेट भरिन्छ । र भात धेरै खान पर्दैन । ठिक त्यस्तै रोटीलाई पनि कयौंले पचाउन मुस्किल मान्छन् ।
यसलाई खान र पेटमा पुगिसकेपछि पनि समस्या भएको महशुस गर्दछन् । यसकारण रोटी कम खान्छन् र उनीहरुको वजन नियन्त्रणमा आउन सहयोग पुग्छ । विशेषज्ञका अनुसार वजन बढ्ने कारणबारे कुनै पनि अन्न विशेषलाई दोष दिनु उपयुक्त हुँदैन ।
यहाँसम्म कि वजन घटाउन पनि कुनै खास अन्नले मद्दत गर्दैन । हामी कुन तरिकाले अन्न छनोट गर्दछौं भन्ने कुराले कुनै फरक पर्दैन । तर, सही तरिकाले खानु र सन्तुष्टि प्राप्त गर्नु महत्वपूर्ण कुरा हो । वजन घटाउन खानाको मात्राले ठूलो भूमिका निर्वाह गर्दछ । यस्तोमा हामी आफ्नो मन पर्ने खाना खान पनि सक्छौं । तर, त्यसलाई सही मात्रामा खानु आवश्यक हुन्छ । पोषण विशेषज्ञका अनुसार पेट भरिने गरी खानुहुँदैन ।
पेट ८० प्रतिशत भरिँदा सम्म मात्रै खाना खान हुने विशेषज्ञ बताउँछन् । खाना खाने समयमा फोन, टिभी, किताब, अखबार र ल्यापटपजस्ता वस्तुहरु टाढै राख्नुपर्दछ । यस्ता वस्तु टाढा हुँदा हाम्रो ध्यान पूरै खानामा जान्छ र आवश्यकताभन्दा बढी खानबाट बच्न सकिन्छ