- डा. प्रेम पाण्डे
काठमाडौं - हाल मौसम परिवर्तन भइरहेको छ । बिस्तारै जाडो बढ्ने क्रममा छ । मौसम परिर्वतनले स्वास्थ्यलाई नकारात्मक असर पुर्याइरहेको हुन्छ । साथै शारिरिक स्थितीमा निकै परिवर्तन भइरहेको हुन्छ । यो मौसममा व्याक्टेरीयाका कारण ज्वरो, रुघाखोकी जस्ता सरुवा रोग लाग्ने सम्भावना उच्च रहन्छ ।
मौसम परिवर्तको समयमा एक्कासि चिसो बढ्नका साथै अत्याधिक प्रदुषण हुने भएकाले स्वास्थ्यमा देखापर्ने विभिन्न समस्या यहि कारणले भएको यकिन गर्न कठिन हुन्छ ।
मौसम परिवर्तन भइरहेको समयमा जथाभाबि खाना खानाले पनि बिरामी पर्नका साथै अन्य ईन्फेक्सन हुने सम्भावना पनि उतिकै हुन्छ । यस्तो समयमा हाम्रो शरीरको क्षमता कम हुन सक्छ ।
यो मौसममा भाइरल संक्रमण वा व्याक्टेरीयाको इन्फेक्सन भएमा शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउँको दुख्ने, हल्का ज्वरो आउने जस्ता लक्षण देखापर्छ ।
यस्ता लक्षणहरु एक दुई दिन सम्म देखियो भने भाईरल इन्फेक्सन भएको हुन सक्छ ।
सामान्य लाग्ने मौसमी रुघाखोकीको बेवास्ता गरे भविष्यमा जटिल रुप लिन सक्छ । कुनैपनि रोगको पहिलो लक्षण रुघाखोकी हुन सक्छ । यदि रुघाखोकीको समयमै उपचार नगरे घाटी , फेक्सो , कलेजो पेट र टाउको मा पनि इन्फेक्सन हुन सक्छ ।
यस्ता संक्रमणबाट बच्न वा उपचारका लागी सर्वप्रथम रोगको पहिचान गर्नुपर्छ । यस्तो समयमा ज्वरो , रुघाखोकी आएमा भाईरल संक्रमण हो वा अन्य कारणले आएको हो पत्ता लगाउन जरुरी हुन्छ । यदि भाइरल संक्रमण भएमा घरमै प्रशस्त मात्रामा शुद्ध पानी पिउने , हरियो सागसब्जी, फलफुल खानुपर्छ । तर व्याक्टेरियल इन्फेक्सन भएमा लामो समय सम्म ठिक नभए चिकित्सककोमा गएर परिक्षण गराउनुपर्छ ।
यस्ता संक्रमित रोगहरु सजिलै खोकी र खकारको माध्यमबाट अन्य व्यक्तिमा सर्न सक्छ । त्यसैले भिडभाडबाट टाढा बस्ने, शुद्ध पानी प्रशस्त मात्रामा पिउने, स्वस्थ्य खाना खाने र माक्स लागाएर हिड्ने बानि बसालेमा यस्ता संक्रमणबाट जोगिन सकिन्छ ।
यो मौसममा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले जेष्ठनागरिक र बालबालिकालाई संक्रमण र भाइरल इन्फेक्सनले समात्ने सम्भावना उच्च रहन्छ ।
यस्ता समस्या हुनै नदिनका लागि अहिले बजारमा धेरै किसिमका भ्याक्सिन आईसकेका छन् । त्यस्ता भ्याक्सिन लगाउँदा रोग सँग लड्ने क्षमता बढाउँछ । साथै खानपिनमा विषेश ध्यान दिनु पर्छ । यस्ता रोगहरुलाई घरेलु खानपानले पनि कम गर्न सकिन्छ । शारीरिक व्यामहरु वा हरेक दिन बिहान एक वा आधा घण्टा दौडिदा पनि यस्ता समस्याबाट बच्न सकिन्छ ।
सधैभरी काम मात्र गरेर हुदैँन आरामको पनि उत्तिकै जरुरी हुन्छ । एक व्यक्ति स्वस्थ्य हुनका लागि ६ देखि ७ घण्टा सुत्न जरुरी हुन्छ ।
(डा. प्रेम पाण्डे अल्का अस्पतालमा जनरल फिजिसियनका रुपमा कार्यरत छन् ।)