गर्भावस्थामा उल्टी हुने कारण
१. गर्भावस्थासँग सम्बन्धित: गर्भ रहनुको एउटा संकेतका रुपमा आउने उल्टी (साधारण उल्टी) वा निकै बढी आउने उल्टी (कडा खालको उल्टी) ।
२. गर्भावस्थासँग असम्बन्धित तर गर्भवती महिलामा हुन सक्ने उल्टीका अन्य कारण ।
मेडिकल कारण– जुकाको संक्रमण, विभिन्न खाले पिसाबनलीको संक्रमण, हेपाटाइटिस, मधुमेहको कारण उत्पन्न हुने जटिलता, शरीरमा अधिक युरियाको मात्रा ।
सर्जिकल कारण– एपेन्डिक्सको सुजन, आमाशयको अल्सर, पूर्ण वा आंशिकरुपमा आन्द्रा थुनिनु, पित्तथैलीको सुजन ।
गाइनेकोलोजिकल कारण– डिम्बाशयको ट्युमर बटारिनु, पाठेघरमा पलाएको मासु बिग्रनु, कुहिनु आदि ।
साधारण खालको उल्टी
गर्भावस्थामा अधिक मात्रामा उत्पादन हुने एचसीजी (ह्युमन कोरिओनिक गोनाडोट्रोफिन), इस्ट्रोजेनलगायतका हर्मोनका कारण यस्तो उल्टी आउँछ । गर्भवती महिलालाई बिहानीपख वाकवाकी लाग्ने, उल्टी आउने हुन्छ । त्यसै कारण पनि गाउँघरतिर सासू वा अग्रज महिलाले आफ्नी बुहारी गर्भवती भएको शंका गर्छन् । धेरैजसो महिलाले गर्भावस्थाको शुरु (पहिलो त्रैमासिक) तिर उल्टीको अनुभव गरेका हुन्छन् । उल्टीमा थोरै मात्रामा पानी वा पित्त मिसिएको हुन्छ । यसले गर्भवती महिलाको दैनिक क्रियाकलाप अर्थात् उनको स्वास्थ्यमा खासै नराम्रो असर पु¥याएको हुँदैन ।
यसका लागि खासै उपचार चाहिँदैन । साथै यस्तो खाले उल्टी गर्भावस्थाको १२ देखि १४ हप्तामा हराएर जान्छ । गर्भवती महिलालाई ढाडस दिने, सुख्खा खानेकुरा खाने, चिल्लो–पिरो कम खाने गरेमा यो समस्या कम हुँदै जान्छ । आवश्यक परेमा उल्टी नआउने औषधि खान सकिन्छ । प्रशस्त मात्रामा झोलिलो खानेकुरा एवं फलफूलको रस पिउनुपर्दछ ।
कडा खालको उल्टी
गर्भावस्थामा उल्टीको मात्रा निकै बढ्न गई गर्भवती महिलाको स्वास्थ्य एवं उनको दैनिक क्रियाकलापमै नकारात्मक असर पुग्न गयो भने त्यसलाई कडा खालको मान्नुपर्दछ । त्यसो त परिवार नियोजनका साधनको उपयोग, गर्भावस्थाको शुरुतिरै गर्भ जाँच गराउन जाने चलन एवं राम्रो खालको उल्टी रोक्ने औषधिको विकासका कारण विगत केही वर्षदेखि गर्भावस्थामा देखा पर्ने उल्टीको समस्या घट्दो क्रममा छ ।
तर पनि पहिलोपटकको गर्भ, जुम्ल्याहा गर्भ, मोलार गर्भ (सग्लो भ्रूणको ठाउँमा अंगुरको दानाजस्तो हुने बिग्रेको गर्भ), अनिच्छित गर्भ, नयाँ पार्टनरबाट रहेको गर्भ तथा पहिल्यै माइतीतिर कसैलाई गर्भावस्थामा उल्टी आउने समस्या थियो भने पनि उल्टी आउने समस्या हुन्छ । गर्भावस्थामा अधिक मात्रामा उत्पादन हुने एचसीजी (ह्युमन कोरिओनिक गोनाडोट्रोफिन), प्रोजेस्टेरोनका कारण खाद्यनली अन्तर्गतको आमाशयको माथिल्लो द्वार खुकुलो हुन गई तथा खाद्यनलीको चालमा गडबडी उत्पन्न भई उल्टी आउँछ ।
उल्टीका कारण लामो समयसम्म खानाको अभाव एवं कुपोषणले गर्दा कलेजो, मृगौला, नसा, मुटु, गिदीमा प्रतिकुल असर पर्दछ । यसका साथै आमाशयमा अल्सर हुने, खकारमा रगत देखा पर्ने, जन्डिस देखा पर्ने हुन सक्छ ।
कडा खाले उल्टीको समस्यामा शुरुतिर कुनै नकारात्मक असर नदेखिए पनि पिसाब, रगत र ईसीजीको जाँचबाट यी कुरा पत्ता लाग्छ । मुखबाट राम्ररी खान नसकेका कारण ग्लुकोजको अभावमा शरीरको बोसो पग्लिने क्रममा निक्लिने विकार तत्व (किटोन) पिसाबमा भेटिन सक्छ । कहिलेकाहीँ आँखाको पर्दा र अल्ट्रासाउन्डको पनि जरुरत पर्दछ ।
उपचारको हकमा उल्टी रोक्ने, जलवियोजन ठीक पार्ने, उल्टीको कारण उत्पन्न हुने जटिलताको रोकथाम आदि गर्नुपर्दछ । मुखबाट कति पनि खानै सकिएन र यसै कारण शरीरमा परेको प्रतिकूल असर रगत एवं पिसाब परीक्षणमा पनि देखिन थाल्यो भने बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ । यसका साथै भिटामिन ‘बी’ कम्प्लेक्स र सी, बिरामीलाई ढाडस, बिरामीको श्रीमान् तथा परिवारजनलाई परामर्श दिनुपर्दछ । उल्टी रोकिनु, बिरामीलाई भोक लागेको अनुभव हुनु, अनुहारमा चमक आउनु, पिसाबमा एसिटोन (अत्यधिक उल्टीका कारण देखिने खराब तत्व) हराउँदै जानु, बिरामीको नाडी, रक्तचाप, पिसाबको मात्रा सामान्य हुनु बिरामी सुधार हुदै जानुको प्रमाण हो । उल्टी रोकिएपछि शुरुमा बिस्कुट, टोस्टलगायतका सुख्खा चिज खान दिनुपर्दछ । बिस्तारै सामान्य खानेकुरा ख्वाउन थाल्नुपर्दछ । यस क्रममा थोरथोरै तर धेरैपटक ख्वाउनको लागि भन्नुपर्दछ । अन्त्यमा, गर्भावस्थासँग असम्बन्धित अथवा अन्य कुनै मेडिकल, सर्जिकल एवं गाइनेकोलोजिकल समस्याका कारण गर्भवती महिलामा उल्टी भइरहेको भए त्यसको कारक तत्व अनुसार नै उपचार गराउनुपर्दछ ।