सामान्य तया शिशुको तौल २ किलो ५ सय ग्राम नर्मल मानिन्छ । १ किलो, २ किलोको शिशु जन्मियो भने विशेष गरी उनीहरुको मार्जिन नपुगेकाले संक्रमण हुने सम्भावना बढी हुन्छ । दूध खुवाउन खोज्दा पनि कम तौलको भएर उनीहरुसँग दूध तान्ने तागत हुँदैन । आमाको दूध सीधै तान्न लगाउँदा उनीहरुको तागत जान्छ । लो बर्थ रेट र स्ट्रिम्ली भेरी लो बर्थ रेटका शिशुलाई दिनमा एकपटक आमाको दूध चुसाएन भने उसले दूध तान्नै सिक्दैन । त्यसैले एकपटक आमाको दूध चुसाउने गर्नुपर्छ ।
बाँकी समयमा आमाको दूध निकालेर चम्चाले खुवाउने गर्नुपर्छ । त्यसो गर्दा बच्चाको शक्ति सञ्चय हुन्छ । यसले गर्दा बच्चाको तौल घट्नबाट जोगिन्छ । दूध नियमित खुवाएमा बच्चाको शरीरको तापक्रम पनि बढ्छ । बच्चाको शरीर तातो भएपछि खान सक्छ । यसले गर्दा चिसो पनि भएन र शक्ति पनि बढ्ने हुन्छ । यस्ता बच्चालाई सरसफाइमा अत्यन्तै ध्यान दिनुपर्छ । सरसफाइमा ध्यान दिएन भने धेरै संक्रमण हुन्छ । बच्चाको दिसा–पिसाब फोहोर होइन भन्ने सोच्नुहुन्न । दिसा–पिसाब गर्ने ठाउँमा विशेष ध्यान दिएर सफा गर्नुपर्छ । धेरै संक्रमण दिसा–पिसाबबाट नै हुन्छ । संक्रमण भयो भने बच्चाको तौल घट्छ ।
आमाको दूधले नपुग्दा गाईभैँसीको दूध, ल्याक्टोजिन खुवाउन हुन्छ कि हुँदैन ?
गाई, भैँसी, बाख्राको दूध मान्छेको बच्चाको लागि बनेकै होइन । यो त उनीहरुकै बच्चाको लागि बनेको हो । त्यसैले बच्चालाई आमाको दूध नै खुवाउनुपर्छ । आमालाई तनावमुक्त बनाएर स्याहार गरेको खण्डमा आमाको दूध जति पनि आउँछ र बच्चालाई आमाकै दूध खुवाउनुपर्छ ।
बच्चा गर्भमा आएदेखि कुन उमेर समूहमा कति तौल हुनुपर्छ ?
तौलको विषयमा विश्व स्वास्थ्य संगठनले ग्रोथचार्ट निकालेको छ । त्यसमा छोरा र छोरीको क्रमशः नीलो र रातो कलरले इंगित गरिएको छ । उमेर र तौल सोही चार्ट अनुसार हेर्न सकिन्छ । बढी तौल पनि राम्रो होइन ।
तौल वृद्धि कसरी भएको छ, त्यसलाई पनि हेर्नुपर्छ । बच्चा जन्मिएको १४ दिनसम्म तौल घट्छ । अस्पतालमा बस्दा आमालाई हरेक दिन तौलको महत्व बुझाउने गरी जानकारी गराइन्छ । बच्चा जन्मेको २५ दिनदेखि हरेक दिन २५–३० ग्रामले बच्चाको तौल ३ महिनासम्म बढ्दै जान्छ । त्यसपछि बिस्तारै कम–कम दरले बढ्दै जान्छ ।
जन्मनेबित्तिकै लगाउने बीसीजी खोप तौल नपुगी लगाउनुहुँदैन । शिशुको तौल २ किलोको नभई यो खोप लगाउन मिल्दैन । त्यसैले तौल पुगेपछि मात्रै यो खोप लगाउनुपर्छ ।