कोदो धेरै खाँदा नपच्न सक्छ । दैनिक एकछाक कोदो खानु उत्तम हुन्छ । कोदोको विभिन्न परिकारहरु बनाउन सकिन्छ । कोदोको भात, ढिँडो, पुवा, रोटी, सूप आदिलाई मन परेको स्वादमा बनाउन सकिन्छ । कोदो पकाउँदा थोरै घिउ हाल्ने तर चिनी नहाल्ने सल्लाह दिन्छु । चिनीले कोदोको औषधीय गुणलाई बिगारिदिन्छ । स्वादका लागि मरमसला, ड्राइ फ्रुट्स मिसाउँदा राम्रै हुन्छ । कोदोको रोटीमा अण्डा मिसाएर पकाउँदा पनि खूबै स्वादिलो हुन्छ । कोदोका नयाँ–नयाँ परिकारहरु बनाउन सिक्नुपर्छ ।
कोदो खाँदा अपनाउनुपर्ने सावधानीहरु
कोदोमा यदि विषादी रहेछ भने हानि गर्छ । पेट दुख्ने, उल्टी हुने, पखाला चल्ने हुन्छ । पकाउनुअगाडि राम्रोसँग पखाल्नुपर्छ । कोदोमा पौष्टिक तत्वहरुबाहेक स्वास्थ्यलाई हानि पुग्न सक्ने केही खराब तत्वहरु पनि थोरै मात्रामा हुन्छन् । ती हुन्– फाइटिक एसिड, पोलिफेनोल, एन्टी गोइटर आदि ।
यी तत्वले पौष्टिक तत्वहरुको पाचन प्रक्रियामा अवरोध उत्पन्न गर्ने हुन्छ । एन्टी गोइटरले थाइराइड हर्मोन उत्पादनमा असर पार्छ र गलगाँड बढ्ने हुन्छ । यसकारण यस्ता खराबीहरु देखा परेमा भने कोदो खान बन्द गर्नुपर्छ र उपचार खोज्नुपर्छ । कोदोबाट हुनसक्ने धेरैजसो खराबीलाई घटाउन यसलाई राम्रोसँग पखाल्ने, सही तरिकाले पकाउने र ठिक्क मात्रामा खाने गर्नुपर्छ ।
अन्त्यमा, चामलको भात खानेभन्दा कोदाको ढिँडो खाने मान्छे धेरै गुणा बलियो र स्वस्थ हुन्छ । बालबालिकालाई पनि कोदो खान सिकाउनुपर्छ । यसले उनीहरुलाई बलियो र स्वस्थ बनाउँछ । तपाईं–हामीले पनि सुस्वास्थ्यका लागि कोदो खान सिकौं ।
वैज्ञानिक अनुसन्धानबाट प्रमाणित कोदोका केही स्वास्थ्यवद्र्धक गुणहरु निम्न प्रकार छन्:
१. रगतमा ग्लुकोजको मात्रालाई घटाउँछ ।
२. रक्तचाप घटाउँछ ।
३. एन्टिअक्सिडेन्टको गुण भएको हुनाले मुटुरोग, क्यान्सर आदि घटाउन मद्दत पु¥याउँछ ।
४. कोलेस्ट्रोल घटाउँछ ।
५. एलर्जी कम गर्छ ।
६. कब्जियत कम गर्छ ।
७. छाला चाउरी पर्नबाट बचाउँछ ।
८. तौल घटाउन मद्दत गर्छ ।
९. महिलाहरुको महिनावारी हुँदा पेट दुख्ने समस्यालाई कम गर्छ ।
१०. जोर्नीहरु दुख्ने समस्यालाई कम गर्छ ।
११. कुपोषणबाट बचाउँछ ।
युरोप र अमेरिकामा कोदोको माग बढिराखेको छ । त्यहाँ धेरै मानिसलाई ‘ग्लुटेन’ एलर्जी हुने समस्या छ । ‘ग्लुटेन’ भनेको अन्नहरुमा पाइने एक प्रकारको प्रोटिन हो, जुन गहुँमा धेरै हुन्छ । जुन व्यक्तिलाई ‘ग्लुटेन’ एलर्जी छ उसलाई ‘ग्लुटेन’ भएको खाना पच्दैन र अन्य एलर्जीका लक्षणहरु पनि देखा पर्दछन् । कोदोमा ‘ग्लुटेन’ हुँदैन । यसकारण त्यस्ता व्यक्तिहरुका लागि यो पौष्टिक आहारको राम्रो विकल्प हुनसक्छ ।