स्वास्थ्यलाई लाभ पुगोस् भनेर बिहान केहीबेर खुला स्थानमा हिँड्ने चलन विशेष गरी शहरी बासिन्दाहरुमा प्रचलित छ । केही समयअघिसम्म ग्रामीण भेगमा प्रातः भ्रमणको त्यति चलन थिएन । किनकि ग्रामीण भेगमा मुख्यतः किसानहरुको बसोबास हुने र किसानहरु आफ्नै खेतबारी, गोठमा बिहानदेखि नै व्यस्त रहने गरेका छन ।
मर्निङ वाक कुनै फेसन वा लहडबाजी होइन र हुन दिनु पनि हुँदैन । यो हाम्रो जीवन शैलीलाई व्यवस्थित, स्वस्थकर र प्रकृतिसँगको निकटता कायम राख्ने एक सरल तरिका हो । यसबाट कुनै जटिल रोग निको हुन्छ भन्ने भ्रममा पनि हामी पर्नुहुँदैन ।
बिहानीको हिँडाइले कुनै रोग निको पार्ने भन्दा पनि समग्र स्वास्थ्यलाई ताजा र स्फूर्त राख्नमा सकारात्मक प्रभाव पार्दछ । त्यो प्रभावले कसैको रोग व्यथामा पनि केही कमी आयो भने त्यसलाई बिहानी हिँड्ने बानीको अप्रत्यक्ष सकारात्मक प्रभाव मान्न सकिन्छ । कतिपय मानिसहरु बिहान हिँड्ने कार्यलाई एउटा बाध्यताको रुपमा लिने र करबलले मात्र हिँड्ने गरेको पनि पाइन्छ ।
त्यसरी मन नलागी–नलागी हिँड््दा त्यसबाट प्राप्त हुने बहुआयामिक लाभ र विशेष गरी मनोवैज्ञानिक लाभ प्राप्त हुन सक्दैन । बानी नपरेकाहरुलाई केही दिनसम्म बिहान ओछ्यान त्यागेर हिँड्न गाह्रो लाग्नु अस्वाभाविक होइन, तर केही दिनसम्म लगातार हिँडेपछि बिस्तारै बानी बस्दै जान्छ । बानी बसिसकेपछि त बिहान बाहिर ननिस्केसम्म आफैँलाई छट्पटी लाग्न थाल्छ ।
बिहानको नियमित हिँडाइ र मौसमका बीच गहिरो सम्बन्ध छ । किनकि हिँड्ने मानिसले मौसमलाई विशेष ध्यानमा राख्नुपर्दछ । विशेष गरी हिउँद र वर्षात्को मौसममा हिँड्दा केही कुरामा ध्यान दिनै पर्छ । हिउँदमा बिहानको मौसम निकै चिसो हुनाले त्यो चिसोमा बाहिर निस्कनु स्वास्थ्यको लागि हानिकारक हुनसक्छ ।
यस्तो अवस्थामा बिहान धेरै छिटो घुम्न निस्कनुभन्दा घाम केही माथि आएर हुस्सु, तुसारो हटिसकेपछि मात्र बाहिर निस्कनुपर्दछ । साथै शिरदेखि पाउसम्म राम्ररी ढाकिने गरी लुगा, जुत्ता लगाउनु अनिवार्य हुन्छ । जाडो याममा पनि दौडँदा वा लम्केर हिँड्दा पसिना आउँछ र पसिनाले भित्री लुगा भिजाएको हुन्छ । हिँडाइबाट फर्केर घर पुग्नासाथ भिजेको भित्री लुगा फेरिहाल्नुपर्छ । पसिनाले भिजेकै भित्री लुगा विशेष गरी छातीमा लगाइने पुरुषको गन्जी र महिलाको ब्रा चिसो लगाएर बस्नुहुँदैन । त्यसो गर्दा छातीमा चिसो गडेर बिरामी हुने सम्भावना बढी हुन्छ ।
जाडो मौसममा बिहान बाहिर निस्कँदा घरमै वा बाटोमा चिया, कफीजस्तो तातो पेय पिउनु उचित हुन्छ । अलिकति रुघा लागेको वा घाँटी दुखेको अनुभव भइरहेको छ भने पनि दुई–चार दिन बिहान डुल्न निस्कनुहुँदैन । जाडो मौसम उच्च रक्तचाप, दम, श्वासप्रश्वास, थाइराइड, चिसोको एलर्जी आदिको समस्या भएका व्यक्तिका लागि जोखिमपूर्ण हुन्छ, तसर्थ त्यस्ता व्यक्तिले बिहानको हिँडाइको सट्टा बेलुकी घाम डुब्नुअघि हिँड्नु सुरक्षित हुन्छ ।
यसै गरी वर्षात् भइरहेकै अवस्थामा हिँड्नु पनि उचित हुँदैन । पानी परिरहेकै अवस्थामा छाता ओढेर भए पनि हिँड्न त सकिन्छ, तर दौडन वा लम्केर हिँड्न असजिलो हुने भएकोेले पानी परिरहेको बेलामा गरिने हिँडाइ सन्तोषजनक हुँदैन । वर्षात्को याममा बिहान डुल्न निस्कँदा नबिर्सीकन छाता लिएर हिँड्नुपर्छ । बिहान पानीमा रुझ्दा स्वास्थ्यलाई असर पर्न सक्छ । केटाकेटी, प्रौढ, वृद्ध आदिले त यस्तो गल्ती गर्नै हुन्न । पानी परिरहेको वा पर्ने लक्षण देखिएको अवस्थामा डुल्न नगए पनि केही फरक पर्दैन, तर रुझ्नुचाँहि हुँदैन ।
नियमित रुपमा बिहान हिँड्ने बानीबाट मनोवैज्ञानिक लाभ पनि प्राप्त हुन्छ । बिहानको स्वच्छ, शीतल र रमाइलो वातावरणसँगको प्रत्यक्ष साक्षात्कारले मनलाई प्रफुल्ल बनाउँछ । यसबाट शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ नै ।
अर्को कुरा, बिहान डुल्न उमेर मिल्दा दौँतरी साथीहरुसँग हिँड्दा र हिँडाइकै क्रमका विश्राम गरी चिया, खाजा खाँदा गरिने गफ र हाँसो–ठट्टाले निकै महत्वपूर्ण मनोवैज्ञानिक प्रभाव दिन्छ । तनाव घटाउन र शरीरमा स्फूर्तिको अनुभव गराउन यस्तो अवसरले साँच्चिकै राम्रो भूमिका खेल्छ । विशेष गरी अवकाशको जीवन बिताइरहेका प्रौढहरुका लागि यो निकै लाभदायक हुन्छ । डिप्रेसनको लक्षण देखिन थालेका युवा वा अन्य वर्गका लागि त यस्तो अवसर अनिवार्यसरह नै मान्छन् मनोचिकित्सकहरु ।