गुन्द्रुक सागबाट बनाइने तरकारीजन्य परम्परागत खाद्यवस्तु हो । रायोको साग, तोरीको साग, मुलाको साग वा अन्य सागबाट पनि गुन्द्रुक बनाउन सकिन्छ । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ ।
अहिले समाजमा पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने चेत बढेको छ । त्यसैले सन्तुलित भोजनको तालिका अनुसार खाना खाने गरिन्छ । यस्तो अवस्थामा सागलाई उसिनेर, बफ्याएर, सुकाएर तयार गरिएको गुन्द्रुक के खान लायक हो त ? प्रश्न स्वाभाविक रुपमा उठ्छ । वास्तवमा नेपालीहरुले परम्परागतरुपमा खाने गरेको गुन्द्रुकमा पोषण शक्ति हुन्छ । गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइड्रेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदार्थ हुने गर्छ ।
पोषणका कुरा मात्र होइन, अन्य तरकारी पकाउने समय भएन भने गुन्द्रुक छोटो समयमै तयार गर्न सकिने स्वादिष्ट परिकार हो । अन्य तरकारीलाई पकाउनुपर्छ भने गुन्द्रुकलाई उमाले मात्र हुन्छ । स्वादका लागि लसुन, प्याज, हरियो धनियाँ आदि पनि हाल्न सकिन्छ । यसरी पकाएको गुन्द्रुक सुपको रुपमा पनि खान सकिन्छ । साग धेरै भएको सिजनमा गुन्द्रुक बनाएर राखेमा तरकारीको अभाव भएको समयमा उमालेर खान सकिन्छ ।
गुन्द्रुक सेवनका फाइदा
– आँखाको भिजनका लागि गुन्द्रुक अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । गुन्द्रुकले आँखामा हुने अल्सरको सम्भावनालाई पनि कम गर्छ ।
– गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत पुग्छ ।
– गुन्द्रुकले क्यान्सरको सम्भावनालाई समेत कम गर्ने देखिन्छ ।
– ग्यास्ट्रिक र अल्सर भएका बिरामीलाई सादा गुन्द्रुकले फाइदा पु¥याउँछ । गुन्द्रुकमा खनिज पदार्थको मात्रा प्रशस्त हुन्छ ।
– स्मरणशक्ति कम हुनेहरुले रायोको गुन्द्रुक सेवन गर्नु उत्तम हुन्छ । किनकि यसले स्मरणशक्ति बढाउनको लागि सहयोग पु¥याउँछ ।
– अधिक कोलेस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ ।
– शरीरको हड्डी मजबुत बनाउनको लागि पनि गुन्द्रुक सेवन फाइदाकारक हुन्छ ।