मानिस सामाजिक प्राणी हो र स्वाभाविक रुपमा नै शारीरिक रुपमा अन्तरक्रिया नगरी बस्न सक्दैन । एक्लोपन वा स्पर्शको अभावले रोग निम्त्याउने वा बढाउने हुन्छ । स्पर्शले समभाव, माया, कृतज्ञताजस्ता भाव बोलेर भन्दा राम्ररी व्यक्त गर्ने गरिन्छ । आत्मीय व्यक्तिको स्पर्श सान्त्वनादायी हुन्छ, एक किसिमले सुख दिन्छ ।
असल तथा खराब स्पर्श
कस्तो सम्बन्ध भएको व्यक्तिसँग कस्तो प्रकारको स्पर्श स्वीकार्य हुन्छ भन्ने कुराका केही आधारभूत मान्यताहरू छन् । तर समुदायको प्रचलन अनुसार यसमा केही विविधता पाइन्छ ।अहिले विशेष गरी कसैलाई (त्यसमा पनि बालबालिका तथा किशोरकिशोरीमाथि यौन शोषण हुने परिप्रेक्ष्यमा) यौन तथा शारीरिक शोषण नहोस् भनेर खराब किसिमको स्पर्शबाट बचाउन सजिलोको लागि असल तथा खराब स्पर्शको रुपमा वर्गीकरण गर्ने गरिएको पाइन्छ ।
सुखानुभूति दिने स्पर्श असल स्पर्श हो । स्याबास, धाप मार्नु, मालिस, अँगालो, चुम्बन, सुमसुम्याउनु असल स्पर्शका उदाहरण हुन् भने पीडादायी स्पर्श नै खराब स्पर्श हो । पिट्नु, झापड वा लात हान्नुजस्ता स्पर्श खराब स्पर्शका उदाहरण हुन् । यस अर्थमा माथिको घटनामा बौद्ध भिक्षुले थप्पड खानु एक खराब स्पर्श हो तर यस दृष्टिकोणबाट यसको खासै चर्चा भने भएन ।
यौन शोषण त्यसमा पनि बलात्कार खराब किसिमका मध्ये पनि सबैभन्दा निकृष्ट किसिमको स्पर्श हो । बालबालिका तथा किशोरकिशोरीलाई यौन शोषण वा दुराचारबाट बचाउन स्पर्श वर्जित क्षेत्र भनेर सजिलोको लागि ‘अन्डर वेयर (भित्री पहिरन) नियम’ बनाइएको छ । केटाको लागि यौनांग (लिंग, अण्डकोष), गुदद्वार तथा त्यसवरिपरिका क्षेत्र अनि केटीको लागि यौनांग (योनि, भगक्षेत्र), गुदद्वार अनि त्यसवरिपरिको क्षेत्रको साथै छाती (स्तन) लाई स्पर्श वर्जित क्षेत्र मानिन्छ र यहाँको स्पर्श नकारात्मक मानिन्छ ।यस अर्थमा सामान्य रुपमा हेर्दा असल स्पर्शलाई स्वीकार्य र खराब स्पर्शलाई अस्वीकार्य मान्न सकिन्छ । तर गहिरिएर हेर्ने हो भने यो यति सरल भने छैन ।
स्वीकार्यता र अस्वीकार्यता
स्पर्श असर वा खराब मात्रैमा वर्गीकरण गरेर स्वीकार्यतालाई हेरिएजस्तो सरल छैन । कस्तो प्रकारको स्पर्श के–कस्तो परिस्थितिमा स्वीकार्य भन्ने कुरा एकदमै फरक–फरक हुन सक्छ । यसका विषयमा विभिन्न अध्ययन–अनुसन्धान पनि भएका छन् । यसको निचोडलाई सरल रुपमा निम्न तरिकाले भन्न सकिन्छ ।
महिलाको सन्दर्भमा कुरा गर्दा, पति वा पुरुष यौन साथीले लगभग सम्पूर्ण शरीरको अंग–प्रत्यंगको स्पर्शलाई स्वीकार्य मानिन्छ भने त्यसपछि साथीले, मातापिता, दिदी–बहिनी तथा दाजु–भाइको काकी–माइजू, काका–मामा, काका–काकी वा मावलीतर्फका दिदी–बहिनी, दाजु–भाइबाट भएको स्पर्श कम स्वीकार्य हुँदै परिचित व्यक्ति अनि अपरिचित व्यक्तिको स्पर्श अस्वीकार्यको तहमा पुग्दछ । त्यसै गरी स्पर्शको स्वीकार्यताको कुरा महिलामात्र होइन पुरुषको हकमा पनि लागू हुन्छ । पुरुषको सन्दर्भमा पनि पत्नी वा यौन साथीले लगभग सम्पूर्ण शरीरको
अंग–प्रत्यंगको स्वीकार्य मानिन्छ । त्यसपछि साथी, मातापिता, दिदी–बहिनी तथा दाजु–भाइ, काकी–माइजू, काका–मामा गर्दै काका–काकी वा मावलीतर्फका दिदी–बहिनी, दाजु–भाइ क्रमशः कम–कम स्वीकार्य हुँदै, परिचित व्यक्ति अनि अन्त्यमा अपरिचित व्यक्तिको स्पर्श धेरै हदसम्मको अस्वीकार्यको तहमा पुग्दछ । यसमा पनि साथी, काका–काकी वा मावलीतिरका दाजु–भाइ, दिदी–बहिनी, परिचित र अपरिचितको सन्दर्भमा सो व्यक्ति समान लिंगी व्यक्ति हो भने स्वीकार्यता केही बढी र विपरीत लिंगी व्यक्ति हो भने स्वीकार्यता केही कम हुन्छ । अपरिचित व्यक्तिको स्पर्श तुलनात्मक रुपमा पुरुषलाई भन्दा महिलालाई अस्वीकार्य हुने गर्दछ ।
त्यसै गरी शरीरको कुन भाग वा अंगको स्पर्श हो त्यस अनुसार पनि स्वीकार्यता कम वा बढी हुने गर्दछ । सामान्यतया हात वा कुममा गरिएको स्पर्श तुलनात्मक रुपमा बढी स्वीकार्य हुन्छ भने विशेष गरी कटी प्रदेश र महिलाको हकमा वक्षस्थल बढी अस्वीकार्य हुन्छ । तर धेरै हदसम्म परिस्थिति वा आवश्यकतालाई मध्यनजर गरी स्वास्थ सेवा वा सरसफाइ सन्दर्भमा अनुमति लिई गरिएका शरीरको यस भागको स्पर्श मात्र स्वीकार्य मानिन्छ ।