कुनै पनि व्यक्तिको जीवनमा यौन सम्पर्कको लागि सहमति दिनु एक महत्वपूर्ण निर्णय हो । यसको लागि शारीरिकरुपमा मात्र होइन, मानसिक र सामाजिकरुपमा पनि परिपक्व हुनु आवश्यक हुन्छ ।
किशोरावस्थामा मस्तिष्क विकास हुने क्रममा नै हुन्छ । किशोरावस्थाका व्यक्तिहरू यौन क्रियाकलाप तथा अन्य कतिपय क्रियाकलापतिर विशेषरुपमा आकर्षित हुने गर्दछन् । मस्तिष्कको एक भाग जसलाई हामीले प्री–फन्टल कर्टेक्स (pre-frontal cortex) भन्दछौं, त्यसले हाम्रो नियन्त्रण प्रणालीलाई सञ्चालन गर्दछ । यस नियन्त्रण प्रणालीले
आत्मनियन्त्रणको नियमनको कार्य गर्दछ । यसले आवेग अनि कुनै कार्य गरिहाल्न पर्ने व्यग्रतालाई नियन्त्रण गर्दछ ।किशोरावस्थाको पछिल्लो उमेरमा नपुगुन्जेल प्री–फन्टल कर्टेक्सको विकास राम्ररी भइसकेको हुँदैन । यसैले गर्दा उनीहरूले आवेग तथा व्यग्रतालाई नियन्त्रण गर्न सक्दैनन्, दीर्घकालीन असरहरूका बारेमा सोच्न सक्दैनन् र सही निर्णय लिन सक्दैनन् । यी कुराले उनीहरूलाई जोखिमपूर्ण काममा सहभागी हुने जोखिमलाई बढावा दिन्छ ।
शारीरिकरुपमा एक हदसम्म विकास भए पनि मस्तिष्क राम्रोसँग विकास नभइसकेको कारणले नै उनीहरूले कतिपय महत्वपूर्ण निर्णय गर्न सक्दैनन् भन्ने आधारमा नै कुनै कार्य गर्न निश्चित उमेर तोक्ने गरिएको पाइन्छ । विशेष यौन तथा प्रजनन क्षेत्रमा भने यो झनै महत्वपूर्ण छ । किनकि किशोरावस्थामा नै यौन भावना तीव्र तरिकाले बढिरहेको हुन्छ र यौन दुर्घटनामा पर्न सक्ने स्थिति हुन्छ ।
यौन सम्पर्क वा विवाहको लागि निश्चित उमेर तोक्नुको मुख्य कारण यौन उत्पीडन वा शोषणबाट बालबालिकालाई बचाउनु र किशोरावस्थामा नै हुने जोखिमयुक्त गर्भलाई कम गर्नु हो भन्ने देखिन्छ । एक किसिमले किशोर–किशोरीको यौनिकता तथा यौन क्रियाकलापलाई नियन्त्रण गर्नु पनि हो ।
यौन सम्पर्कको लागि दिइने सहमति कुनै दबाब, चलाखी, नशालु औषधि वा मद्यपानको प्रभावमा नभएको हुनुपर्दछ । यस्तो सहमति कुनै बेला दिइए पनि जुनसुकै बेला उल्ट्याउन सकिने किसिमको हुनुपर्दछ । त्यसै गरी यस्तो सहमति के–कस्ता कुराका लागि दिइएको, पहिले नै पूर्णरुपमा जानकारी भएको हुनुपर्दछ । साथै आफूले चाहेको यौन क्रियाकलापअनुसार हुनुपर्दछ ।
नेपालको कानुन अनुसार नाबालिगले यौन सम्पर्कको लागि सहमति जनाए पनि ऐनले परिभाषित गरेको उमेर नपुगेको स्थितिमा भने त्यसलाई कानुनी मान्यता प्राप्त हुँदैन र सहमतिबेगर भएको यौन सम्पर्क बलात्कार नै ठहरिने गर्दछ ।
किशोरावस्थाको पछिल्तिरको उमेरलाई यौन सम्पर्कको सहमति दिन सक्ने उमेर तोकिनुले बालबालिका वा किशोर–किशोरीमा हुने यौन शोषण वा यौन उत्पीडनबाट बचाउने, देह व्यापारमा लाग्नबाट बचाउने, जोखिमपूर्ण स्थितिमा भएका किशोर–किशोरीको उद्धार गर्न सकिने, किशोर–किशोरी जोखिमपूर्ण यौनक्रियामा लाग्नबाट बचाउने र यौन संक्रमण तथा गर्भ रहनबाट बचाउने हुन्छ । यसका साथै यदि नाबालिगले कुनै निर्णय गरे भने पनि त्यसबाट पर्ने असरबाट एक हदसम्म बचाउँछ ।