काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन सहायक प्रजिअ अनिल पौडेलले अनुरोध गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै रङ्गहरूको पर्व होली मर्यादित र अनुशासित भएर खेल्न आग्रह गरेको छ । जारी गरिएको सूचनामा फागु अर्थात् होली पर्व मनाउने क्रममा इच्छा विपरीत रङ्ग छ्याप्ने, जथाभाबी अबिर फाल्ने, हो–हल्ला गर्ने गराउने, लोला हान्ने, जबरजस्ती अमर्यादित वा उच्छृङ्खल किसिमका व्यवहार गर्ने जस्ता कार्य प्रचलित कानून विपरीत भएकोले त्यस्तो कार्य नगर्न नगराउन अनुरोध गरिएको छ ।
त्यसै गरि जिल्ला प्रहरी कार्यालय सप्तरीले होली पर्वलाई लक्षित गरेर ५ सय २३ प्रहरी परिचालन गरिने र बर्जस्ती रङ्ग दल्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरि होहल्ला गर्ने तथा ट्राफिक नियमको उल्लङ्घन गरि सवारी चलाउनेलाई कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न/नगराउन सबैमा अनुरोध छ ।