काठमाडौं। स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं राष्ट्रिय शिखर सम्मेलन चैत २८, २९ र ३० गते हुने भएको छ ।
'स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तन: दिगो र समातामुलक भविष्यको लागि उत्थानशिल स्वास्थ्य प्रणाली' भन्ने नाराका साथ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चैत २८ गते देखि काठमाडौंको द सोल्टि होटेलमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको ११ औं राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागेको हो। कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी मन्त्री विद्या भट्टराईले गर्नेछिन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू, नीति निर्माताहरू र विकास साझेदार निकायहरूको उल्लेखनीय सहभागिता रहनेछ । स्वास्थ्य र जनसंख्याका क्षेत्रमा अनुसन्धानलाई प्रवर्द्धन गर्नु, प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ गर्नु, बैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताहरू बीच समवन्य र सहकार्यलाई थप मजबुत बनाउनु यस सम्मेलनको मुख्य उद्देश्य रहेको परिषद्का कार्यकारी प्रमुख डा. प्रमोद जोशीले बताए ।
नेपालसहित भारत, चीन, युके, स्विजरल्यान्ड, जर्मनी, अमेरिका लगायत देशका १०० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरू तथा १००० भन्दा बढी राष्ट्रिय सहभागीहरूको भौतिक तथा भर्चुअल उपस्थितिमा सम्मेलन सम्पन्न हुने डा. जोशीले बताए ।
सपटकको सम्मेलन जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता लगायतका समसामयिक विषयवस्तुमा केन्द्रित हुनेसमेत उनले बताए । साथै, स्वास्थ्य बीमा, दक्ष स्वास्थ्यकर्मीको पलायन, मानसिक रोग, सर्ने–नसर्ने रोग तथा अनुसन्धान नियमन लगायत विषयमा पनि विशेष छलफल गरिनेछ ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा १४६ वटा मौखिक, १३० वटा पोष्टर प्रस्तुतीकरणका लागि गरी कुल २७६ वटा अब्स्ट्याकहरु प्राप्त भएका थिए । जसमध्ये साइन्टीफिक कमिटीले निर्धारण गरेको मापदण्डका आधारमा ८७ वटा मौखिक प्रस्तुतीकरण र ११५ वटा पोष्टर प्रस्तुतीकरण सम्मेलनमा प्रस्तुत हुनेछन् ।
सम्मेलनबाट प्राप्त निष्कर्षहरूले दिगो र उत्थानशील स्वास्थ्य प्रणाली विकासमा उल्लेखनीय योगदान पुग्ने डा. जोशीले विश्वास व्यक्त गरे । यस्तै सम्मेलनमा विभिन्न १४ वटा विधामा अवार्डहरू प्रदान गरिने छ । हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर परिषद्ले राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन आयोजना गर्दै आएको छ ।