दार्चुला । दार्चुलामा स्वास्थ्य बीमा कार्यक्रमबाट चालु आर्थिक वर्षको हालसम्म ४ हजार ६ सय जनाले सेवा लिएका छन् ।
हाल स्वास्थ्य बिमामा आवद्धहरुको जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा उपचार हुने गरेको छ । जसअनुसार हालसम्म जिल्ला अस्पताल दार्चुलाबाट ४ हजार ५६ जनाले सेवा लिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर भट्टले जानकारी दिए । त्यस्तै गोकुलेश्वर अस्पतालबाट ५ सय ४४ जनाले सेवा लिएको गोकुलेश्वर अस्पतालका जनस्वास्थ्य निरीक्षक ओम प्रकाश पन्तले जानकारी दिए ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ दार्चुला जिल्लामा २०७५ साल फागुन २९ गते देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो ।
दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा पुष महिनासम्म १६ हजार नौ सय ९१ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध रहेको स्वास्थ्य बीमा बोर्ड दार्चुलाका संयोजक दिपक सिंह क्षेत्रीले जानकारी दिए । हाल सम्म जिल्लामा आठ हजार ४४ जना महिला र आठ हजार नौ सय ४७ जना पुरुष गरि कुल १६ हजार नौ सय ९१ जनाले स्वास्थ्य बीमा गराएको उनले बताए । जिल्लाका नौ वटा स्थानीय तहहरू मध्ये महाकाली नगरपालिकामा सबै भन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्, भने सबै भन्दा कम अपिहिमाल गाउँपालिका रहेका छन् ।
जिल्लाको महाकाली नगरपालिकामा एक हजार सात सय २४ पुरुष र एक हजार आठ सय सात जना महिलाले स्वास्थ्य बीमा गराएको संयोजक क्षेत्रीले जानकारी दिए । त्यस्तै जिल्लाको शैल्यशिखर नगरपालिकामा एक हजार तीन सय ३६ पुरुष र एक हजार तीन सय ७१ जना महिला, दुहुँ गाउँपालिकामा एक हजार दुई सय छ जना पुरुष र एक हजार दुई सय ९९ जना महिला, ब्याँस गाउँपालिकामा एक हजार एक सय दुई पुरुष र महिला एक हजार एक सय ८२ महिलाले स्वास्थ्य बीमा गराएका छन् ।
त्यस्तै जिल्लाको नौगाड गाउँपालिकामा नौ सय ४१ पुरुष र नौ सय एक जना महिला, मालिकार्जुन गाउँपालिकामा सात सय ७८ पुरुष र महिला सात सय ६६ महिला, लेकम गाउँपालिकामा छ सय ९८ पुरुष र सात सय १० महिला, मार्मा गाउँपालिकामा पाँच सय ८४ पुरुष र छ सय २६ महिला तथा जिल्लाको अपिहिमाल गाउँपालिकामा सबै भन्दा कम दुई सय ७५ पुरुष र महिला दुई सय ८५ महिला स्वास्थ्य बिमामा आवद्ध भएको बीमा संयोजक क्षत्रीले जानकारी दिए । सरकारले हाल ७० वर्ष माथिका ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी, जटिल खालका क्षयरोगी, क वर्गको अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने गरेको छ ।
धेरै जसो जिल्लामा स्थानीय तहहरुले क वर्ग बाहेकका अन्य अपाङ्गता भएका व्यक्तिको हकमा स्थानीय तहहरुले स्वास्थ्य बीमा गरिरहेको तर दार्चुलामा त्यस्तो हुन नसकेको उनले बताए । क वर्गको अपाङ्गता भएका व्यक्तिको सरकारले नै स्वास्थ्य बीमा गरिदिने गरेको छ। अन्य वर्गका अपाङ्गहरूको लागी स्वास्थ्य बिमामा निःशुल्क आबद्धताको लागी स्थानीय तहहरू सँग सहकार्य गर्न खोजेको तर दार्चुलाका कुनै पनि स्थानीय तह कार्यक्रममा आवद्ध नभएको उनले बताए ।
दार्चुलामा हाल जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट स्वास्थ्य बीमा गराएका नागरिकले सेवा पाउने गरेका छन् ।