काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पर्याप्त, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ मा चुरोट र सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र तथा चेतावनीमूलक सन्देश छाप्नुपर्ने अनिवार्य व्यवस्था गरिएकोमा पुनरावलोकन गर्न आग्रह गरिए हो ।
उद्योग मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका शाखा अधिकृत दुर्गा लम्सालले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा पुनरावलोकन गर्न आग्रह गरेको जानकारी गराए । सूर्तिजन्य पदार्थमा शतप्रतिशत घातक चित्र राख्ने नीतिगत तथा कानुनी व्यवस्थामा पुनरावलोकन गर्न आग्रह गरिएको उनले बताए ।
उनले हाललाई उद्योग व्यवसायलाई प्रभाव पर्ने कुनै नयाँ व्यवस्था नगर्ने गरी सहज औद्योगिक वातावरणका लागि सम्बन्धित पक्षबाट अनुरोध आएकाले शतप्रतिशत चित्र राख्ने कुरामा पुनरावलोकन गर्न आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका कानुन शाखाका प्रमुख गोपीकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र राख्नाले सुर्तीजन्य सेवन गर्नेलाई निरुत्साहित गर्न व्यापक छलफलपछि निर्देशिका बनाइएकोले यसबाट पछि नहट्ने जानकारी दिए ।
निर्देशिकामा भएको व्यवस्थालाई उद्योग मन्त्रालयलाई पुनरावलोकन गर्न भनेको छ, हामी निर्देशिकामा भएको व्यवस्थाअनुसार साउनदेखि सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक रङ्गिन चित्र राख्ने व्यवस्था कार्यान्वयन गराउँछौँ” उनले भने ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ भने धुमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले ऐनमा भएको सुर्तीजन्य पदार्थका प्याकेटमा ७५ प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देशलाई बढाएर ९० प्रतिशत पुर्याएको बताए । उनले सुर्तीजन्य पदार्थमा शतप्रतिशत चेतनामूलक चित्र तथा सन्देश राख्दा सेवनकर्ता चुरोट, सुर्ती, गुट्खा खान डराउने भएकाले बिक्री पनि कम हुने बताए । साथै नयाँ सेवनकर्ता पनि घातक चित्र र चेतनामूलक सन्देशले नखाने विश्वव्यापी मान्यता रहेको उनले जानकारि दिए ।