ग्यास्ट्रिकको समस्या अहिले अधिकांशमा देखिन्छ । ग्यास्ट्रिकलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ। पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ। खानपान मानव स्वास्थ्यका लागि अति महत्त्वपूर्ण विषय हो । मानिसको निरन्तर खानपिनमा भई रहेको परिवर्तनका कारण ग्यास्ट्रिकको समस्या बढि रहेको छ ।
ग्यास्ट्रिकलाई धेरैले सामान्य रोगको रुपमा लिन्छन् । जबकि सामान्य अवस्थाबाट सुरु हुने ग्यास्ट्रिकले पेट वा आन्द्राको क्यान्सर नै गराउन सक्छ । ग्यास्ट्रिक हुनुको मुख्य कारण अस्वस्थकर जीवनशैली हो । पछिलो समय बढि रहेको जथाभावी औषधि सेवन, धेरै तनाव लिने, चुरोट र रक्सी खाने मानिसहरुमा आमासय सुनिने समस्या बढि रहेको छ ।
ग्यास्ट्रिकलाई दुई किसिमले वर्गीकरण गर्छु १५ वर्षदेखि ३० वर्ष र ३० वर्षमाथि । हिजो आज युवा अवस्थामा धेरै ग्यास्ट्रिकको सिकायत लिएर आउने गरेका हुन्छन् यो उमेरको युवाहरूले बाहिरको खानेकुराहरु म : म, चाउचाउ, चाउमिन, जङ्कफुटको अत्याधिक प्रयोग, राति ढिला सुत्ने, मोबाइल धेरै चलाउने गर्छन जसकारण करियर बनाउने उमेरमा ग्यास्ट्रिकको सिकायत लिएर आउने गरेका हुन्छन् ।
लक्षण
- छाती पोल्ने
- घाँटीमा केही अड्के जस्तो हुने
- मुटु दुखे जस्तो वा पोले जस्तो हुने
- खाना राम्रोसँग नपच्ने
- खान मन नलाग्ने
- वान्ता हुने
- खाना खाएपछि पेट ढुस्स हुने
- पेट फुल्ने
कारणहरूः
- फास्टफुड र जङ्कफुटको अत्याधिक प्रयोग
- राति ढिला सुत्ने
- ल्यापटप, मोबाइल धेरै चलाउने वा स्क्रिन टाइम धेरै सेयर गर्ने
- धूमपान, सूर्तिजन्य र मदिरापान गर्नु
- चिया, कफी, चिसो पेय धेरै खानु
- तनाव धेरै लिनु
- तारेको खानेकुरा धेरै खाने
- चटपटे, पानीपुरी, दालमोठ, चाउचाउ आदिको सेवान
- शारीरिक व्यायाम नहुनु
- धेरै औषधि खानु
ल्यापटप, टिभी, मोबाइल धेरै हेर्ने वा स्क्रिन टाइम धेरै सेयर गर्ने बच्चामा ग्यास्टिकको समस्या धेरै देखिन्छ यसले गर्दा बच्चाहरूमा सोच्ने क्षमता तथा ग्यास्टिकको समस्या बढी देखिएको पाइन्छ ।
ग्यास्ट्रिक कुन अवस्थामा जोखिमपूर्ण बन्छ
ग्यास्ट्रिकलाई धेरैले सामान्य रोगको रुपमा लिन्छन् । जबकि सामान्य अवस्थाबाट सुरु हुने ग्यास्ट्रिकले पेट वा आन्द्राको क्यान्सर नै गराउन सक्छ । समयमा सहि उपचार नभएको खण्डमा पछि गएर यसले जटिलता निम्त्याउन सक्छ ।
- धेरै वान्ता गरेमा
- बिरामीको तौल घट्दै गएमा
- बिरामीमा रगतको कमी हुँदै गएमा
- पेटमा मासु पलाएको जस्तो देखेमा
- रगत वान्ता गरेमा
- कालो दिशा भएमा
क्यान्सरको पहिलो लक्षण भनेकै ग्यास्ट्रिक हो। त्यसैले कसैको परिवारमा क्यान्सरको हिस्ट्री रहेमा र लामो समयदेखि ग्यास्ट्रिकको समस्या भइरहे अवस्थामा तुरुन्तै हस्पिटल गएर इन्डोस्कोपी गरेर हेरने । ग्यास्ट्रिक भन्दै लामो समयसम्म ग्यास्ट्रिकको औषधि सेवन गरेमा आन्द्रा फुटेर रगत आएको पनि हुनसक्छ यस्तो अवस्थामा दुखाई कम गर्ने औषधिहरु खाएमा जोखिमपूर्ण बन्न सक्छ। यदि आन्द्रा नै प्वाल परेको छ भने त ४८ घण्टाभित्र अपरेसन भएन भने बिरामीको ज्यान पनि जान सक्छ।
यसको उपचार कस्तो हुन्छ ?
सामान्यतया दुई किसिमको उपचार हुन्छ। एउटा चाहिँ खानपिन तथा जीवनशैली परिवर्तन कुनै पनि रोगको नियन्त्रण गर्नु छ भने मुख्य उपचार भनेको खानपिन तथा जीवनशैली सुधार्नु हो।
खाइरहेको खानामा कम्तिमा ८०% अर्गानिक खाना हुनुपर्छ तथा लाइफ रुटिन फलो गर्ने, समयमा खाने, समयमा सुत्ने, तनाव धेरै नलिने हो भने यसले धेरै हदसम्म कम गर्छ। रक्सी चुरोटको सेवन नगर्ने जथाभावी दुखाइको औषधि खानु ग्यास्ट्रिकको प्रमुख कारण हो।
ग्यास्ट्रिकको औषधि आफै फार्मेसीमा गएर किनेर खानु कतिको सही छ ?
ग्यास्ट्रिकको औषधि जथाभावी प्रयोग गर्नु राम्रो हुँदैन। आपत्कालीन अवस्थामा ग्यास्ट्रिकको औषधि आफै फार्मेसीमा गएर किनेर खान सकिन्छ तर सधैंभरिका लागि यो रुटिन फलो गर्नु राम्रो हुँदैन। बुकमा मानिसको ५० उमेर लेखिएको छ तर मेरो हिसाबले ४० वर्षमा ग्यास्ट्रिक भनेको क्यान्सरको प्रमुख कारणको रुपमा लिएको छु। यसरी जाँच नगरि जथाभावी औषधिको सेवनले असर गर्छ।
लामो समयसम्म ग्यास्ट्रिकको औषधि खाने मान्छेलाई पाचन प्रक्रियामा असर गर्छ । मानिसहरु पेट दुख्ने बितिकै ग्यास्टिक भनेर औषधि खाने गर्छन पेट धेरै कारणले दुखेको हुनसक्छ पथरीका कारणले, ग्यास्टिकका कारणले, या अरु कुनै पित्तथलीमा समस्याका कारणले हुन सक्छ त्यसैले पहिला चेक गराएर मात्र औषधि सेवन गर्नु राम्रो हुन्छ।
यसबाट बच्ने उपाय
- जीवनशैली परिवर्तन
- समयमा खाना खाने वा सन्तुलित आहार खाने
- पानी प्रशस्त पिउने
- फास्टफुड र जङ्कफुटको सेवन नगर्ने
- अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा नखाने
- रक्सी, चुरोटजस्ता पदार्थको सेवन नगर्ने
- नियमित शारीरिक व्यायाम गर्ने
- राति समयमा सुत्ने
- तनाव धेरै नलिने
- खाना खाने बितिकै नसुत्ने
- स्क्रिन टाइम धेरै सेयर नगर्ने
- चिकित्सकको सल्लाहमा मात्र पेनकिलर वा अन्य औषधिको सेवन गर्ने
एभरेस्ट अस्पतालका पेट तथा कलेजोरोग विशेषज्ञ डा.अवशेष भण्डारी संगको कुराकानिमा आधारित