काठमाडौं। नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीन दिने नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेला 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२५' यहि बैशाख ५ ६ र ७ गते भुकुटीमण्डपमा हुने भएको छ।
बुधबार आयोजित प्रत्रकार सम्मेलनमा संघका सचिव निरन्जन खतिवडाले दन्त चिकित्सा सम्बन्धित सबै पक्षलाई समेट्ने उद्देश्यसहित नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेला आयोजना हुन लागेको बताए । मेलामा अस्पताल, क्लिनिक, दन्त चिकित्सक, विद्यार्थी, प्रयोगशाला तथा सम्पूर्ण दन्त पेसाकर्मीका लागि गुणस्तरीय औजार तथा सामान सहजताका साथ उपलब्ध हुने बताए । उनले मेलामा नेपालसँगै विभिन्न देशका एक सय बढी प्रदर्शनी, ९० भन्दा बढी स्टल र ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने जानकारी दिए।
खतिवडाले शो को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले यो व्यापार मेला बी टु बी तथा बी टु सी दुबै भएको र यसबाट प्रदर्शनीबाट सिक्ने र सामग्री किन्न चाहनेहरुका लागि विशेष छुटमा किन्न सक्ने भएकाले सबैले फाइदा लिनसक्ने बताए ।
उक्त कार्यक्रममा बोल्दै नेपाल दन्त सामग्री वितरक सङ्घका अध्यक्ष शालिग्राम अर्यालले नेपालमा तेस्रो पटक यस्तो मेला गर्न लागेको बताए । उनले अस्वस्थ प्रतिस्पर्धा कम गर्ने उदेश्यले उक्त मेला आयोजना गरेको जानकारी दिए। उक्त मेलामा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइने छ।
एनडिडिएका सह-कोषाध्यक्ष शेखर सुवेदीले 'नेप्डेन्ट मेलामा आउने ग्राहकहरुले विशेष छुट तथा विभिन्न अफरहरु पाउने छन्,' उनले भने, 'यो मेला दन्त सामग्रीको व्यापार मेला भएकाले ग्राहकहरुलाई लक्षित गर्दै अफर र छुटको व्यवस्था गरेका हौं।' मेलामा विभिन्न ब्राण्डहरुमा १० देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था साथै प्रवेश नि:शुल्क रहेको बताए । उक्त छुट तिनदिनका लागिमात्र रहेको समेत जानकारि गराए ।