बागलुङ । बागलुङमै मनोरोगको उपचार हुन थालेपछि बिरामीलाई सहज हुने भएको छ । बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा आठ महिनादेखि ठप्प मनोरोगको उपचार सुरु भएपछि बिरामीलाई सहज हुने भएको हो ।
मनोचिकित्सकको अभावमा मनोरोग विभागको सेवा आठ महिनादेखि प्रभावित भएकोमा एक हप्तादेखि मनोरोग विशेषज्ञ डाक्टर गीता सुवेदीले सेवा दिन थाल्नुभएको धौलागिरि अस्पतालले जनाएको छ ।
चार वर्षदेखि सक्रिय मनोरोग विभाग आठ महिना यता ठप्प जस्तै बनेको थियो । पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेको र फलस्वरुप आत्महत्याको दर बढ्न थालेको पाइएपछि अस्पताल व्यवस्थापन समितिबाटै मनोरोग चिकित्सक व्यवस्थापन गरिएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले जानकारी दिए।
मनोरोगको समयमै उपचार नहुँदा आत्महत्या बढ्दै जाने भएकाले अस्पतालले नै मनोरोग विभागलाई सक्रिय बनाएको छ । यस अघि छात्रवृत्ति करारमा मनोरोग चिकित्सक व्यवस्थापन गरिए पनि अस्पतालमा आउने मनोरोगीको उपचारमा समस्या भएपछि आन्तरिक स्रोतबाटै चिकित्सक राखिएको छ ।
मनोरोगको उपचार थालेपछि पोखरा र काडमाण्डौ जानु पर्ने झन्झट टर्ने गरेको तिवारीले बताए । अस्पतालले विशिष्टीकृत सेवाका रुपमा दिइरहेको मनोरोग विभागमा अहिले एक जना मनोपरामर्शदाता समेत रहँदै आएका धौलागिरि अस्पतालमा मेडिकल रेकर्डर नवराज शर्माले जानकारी दिए ।
गरिबी, सामाजिक, सांस्कृतिक लैङिग विभेद, विलासी आवश्यकता, वैदेशिक रोजगारीको प्रभाव, सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, पढाइको दबाब, दुर्व्यसन, एक्लोपन, अभिभावकले छोराछोरीलाई सही ढंगले रेखदेख नगर्दा, मानसिक तनाव, महत्त्वाकाङ्क्षी तथा मोबाइलको बढ्दो प्रयोगका कारण पछिल्लो समय मनोरोगका बिरामीको सङ्ख्या ह्वात्तै बढेको बागलुङ जिल्लाको तथ्याङ्कले देखाएको छ ।