नयाँ अनुसन्धानले किशोरीहरू कम उमेरमै महिनावारी सुरु हुन थालेको देखाएको छ। दूषित वायुलाई त्यसका लागि जिम्मेवार ठानिएको छ।
कैयौँ दशकदेखि वैज्ञानिकहरू अघिल्लो पुस्ताभन्दा कम उमेरमा बालिकाहरू किशोरी बनेको भन्दै चिन्तित हुँदै आएका छन्। पहिलो पटक ुरजोदर्शनु भएपछि बालिकाहरूको स्तनको विकास हुने अनि किशोरावस्थामा देखिने परिवर्तन चाँडोचाँडो देखा पर्ने उनीहरू बताउँछन्।
एक शताब्दीअघिका किशोरीसँग तुलना गर्दा अहिलेका किशोरीमा झन्डै चार वर्ष चाँडै महिनावारी सुरु हुने आकलन गरिएको छ।
संयुक्त राज्य अमेरिकामा मे महिनामा प्रकाशित नयाँ तथ्याङ्कका अनुसार सन् १९५० देखि १९६९ मा जन्मिएका महिलामा १२.५ वर्षको उमेरमा महिनावारी हुने गरेको थियो। तर सन् २००० को दशकको प्रारम्भमा जन्मिएकाहरूको महिनावारी हुने उमेर औसतमा ११.९ वर्ष कायम भयो।
त्यही प्रवृत्ति संसारका अन्य देशमा पनि थियो। दक्षिण कोरियाका वैज्ञानिकहरूले समयअगावै किशोरावस्थामा पुगेको लक्षण देखिएका बालिकाबारे एउटा चिन्ताजनक तथ्याङ्क प्रस्तुत गरेका थिए। स्तनको विकास वा आठ वर्षको उमेरभन्दा अगावै रजस्वला हुने महिलाको सङ्ख्या सन् २००८ देखि सन् २०२० सम्ममा १६ गुनाले बढेको उनीहरूको भनाइ छ।
“हामीले त्यसरी कम उमेरमै यौवन सुरु हुने अवस्था कमजोर सामाजिक र आर्थिक हैसियत भएका समूहहरू अनि जातीय अल्पसङ्ख्यक समूहहरूमा पाएका छौँ,” एट्लान्टास्थित इमोरी यूनिभर्सिटीमा प्राध्यापन गर्ने अड्री ग्यास्किन भन्छिन्।
प्रजनन स्वास्थ्यमा कस्तो असर
“यसले दीर्घकालीन स्वास्थ्यमा महत्त्वपूर्ण असर पारिरहेको छ।” प्रारम्भिक तथ्याङ्कहरूले यसले प्रजनन गर्न सक्ने समयावधि घटाइदिने सङ्केत गरेका छन्। विशेष गरी चाँडै रजोनिवृत्ति भएका महिलामा उक्त अवधि कम हुन सक्ने पाइएको छ। चाँडै किशोरावस्था देखा परेका महिलालाई स्तन र डिम्बाशयको क्यान्सरदेखि मोटोपन र टाइप टू मधुमेह र मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम रहेको पाइएको थियो।
वैज्ञानिकहरूले यस्तो परिवर्तन हुनुको कारण खोजिरहेका छन्। तर बर्क्लीस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रा ब्रेन्डा एस्कनाजीका अनुसार 'ईस्ट्रजन' जस्ता यौन होर्मोनसँग शरीरका कोशिकाहरू लामो समयसम्म सम्पर्कमा आउँदा 'ट्यूमर' बन्न सक्ने जोखिम पनि बढ्छ। किनभने होर्मोनले कोशिकाको वृद्धिलाई प्रेरित गर्छ। “कतिपयले यस्ता होर्मोनसँग लामो अवधि सम्पर्कमा रहँदा त्यसले प्रजनन अङ्गसँग सम्बन्धित क्यान्सरको जोखिम बढाउन सक्छ।”
मोटोपन र वायुप्रदूषण
कम उमेरमै महिनावारी सुरु हुनमा वैज्ञानिकहरूले चाँडै किशोरावस्था देखा पर्नुमा मोटोपन र वायुप्रदूषण दोषी रहेको ठान्ने गरेका थिए।
चिल्लो उत्पादन गर्ने 'एडिपोकाइन' भनिने कोशिकाहरूले उत्पादन गर्ने प्रोटीनहरूले एचपीए एक्सिस र एचपीजी एक्सिसलाई उत्तेजित पार्ने ठानिन्थ्यो। “हालै मात्र विज्ञहरूले होइन, त्यसले सबै कुरा भन्दैन। अरू पनि कारणहरू हुनुपर्छु भन्न थालेका छन्।”
वैज्ञानिक आलेखमा प्रदूषण गराउने विभिन्न तत्त्वहरूसँग सम्पर्क हुनु र अपरिपक्व उमेरमै किशोरावस्था आरम्भ भएको स्थिति बारम्बार देखा परेको औँल्याइएको छ। वायुप्रदूषण जसमा रहेको सल्फर डाइअक्साइड, नाइट्रोन डाइअक्साइड, कार्बन मनोक्साइड र ओजोनजस्ता विषालु ग्यास यसका लागि मुख्य रूपमा जिम्मेवार छन्। बीबीसी