दैलेख । दैलेखको दुल्लु नगरपालिकामा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुल्लु अस्पतालमा यही बैशाख १३ गतेदेखि शुरु भएको तीन दिने विशेषज्ञ स्वास्थ्य शिविर बैशाख १५ गते सम्पन्न भएको हो ।
दुल्लु नगरपालिका र स्वास्थ्य सेवा कार्यालय दैलेखको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा एक हजार बढीले सेवा लिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य निरीक्षक नमराज सुवेदीले जानकारी दिए।
स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वयमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। धर्मराज रेग्मीको नेतृत्वमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा।किशोर बिष्ट, मानसिक रोग विशेषज्ञ डा। पूजा बिसी एमडिजिपी डा। लोकराज कँडेलको टोलिले निःशुल्क सेवा प्रदान गरेको जनस्वास्थ्य निरीक्षक सुवेदीले बताए ।
शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी नशा तथा बाथ रोग, मानसिक रोग, जनरल मेडिसिन सामान्य चिकित्सा गरी चार विधाका विशेषज्ञ डाक्टरहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जनस्वास्थ्य निरीक्षक सुवेदीले बताए ।
शिविरमा स्त्री तथा प्रसूति रोगसम्बन्धी २ सय १३ जना, मानसिक रोगका १ सय ३३ जना, हाडजोर्नीका १ सय ७५ जना, भिडियो एक्सरे २३ जना, एक्सरे सय जना, जनरल ओपिडीका ३ सय १० जना, मेजर अप्रेसनका ८ जना, पाठेघरको क्यान्सर स्क्रिनिङ्गका १ सय २३ जना गरी १ हजार ८५ जनाले सेवा लिएको जनस्वास्थ्य निरीक्षक सुवेदीले बताए ।