कोरोनाभाइरसले विश्वलाई त्रसित पारिरहेको अवस्थामा पारेपछि सबैतिरबाट मानिसहरूले डरलाग्दा सपनाहरू देख्न थालेका बताउन थालेका छन्।
कोभिड-१९ ले हाम्रा मस्तिष्क व्याकुल भएका थिए र त्यो व्याकुलता हाम्रो निद्राका बेला प्रकट भइरहेका छन्।
कोभिड सुरु भएको एक वर्षभन्दा बढी समय भएपछि अहिले धेरै मानिसहरू महामारीमा अभ्यस्त भएका छन्।
के तपाईँका सपनाहरूले पनि 'न्यू नर्मल' भनिने नयाँ वास्तविकतालाई पचाए त? हामीले त्यसको उत्तर पत्ता लगाउने कोसिस गरेका छौँ।
के हाम्रा हरेक रातका सपनाका पृष्ठभूमि मास्क, खाली सडक र सामाजिक दूरी बनेका छन्?
शार्क घुम्नेदेखि हात धुनेसम्म
केही पाठकहरूले हामीलाई पठाएका सपनाको विवरण यस्तो छ:
"म शार्कले भरिएको पानी भएको किनारामा हिँड्दै हुन्छु र म किन मानिसहरूले सामाजिक दूरी कायम गरेनन् भनेर चिन्तित हुन्छु," स्कटल्यान्डकी फियोना रामेज भन्छिन्।
उनी अचेल आफ्ना सपनाका पृष्ठभूमि प्राय: महामारी नै हुने र त्यसमा कहिलेकहीँ त सामान्य सत्य कुराहरू जस्तै 'खोकी लाग्ने डर' समेत सामेल हुने बताउँछिन्।
जापानबाट यूके परिवारसहित आएर बसोबास गरिरहेकी सायाका आफ्नी सात वर्षीया छोरीले कोभिडको सपनाबारे आफूलाई भनेको बताउँछिन्।
उनी भन्छिन्, "सपनामा उनी प्राय: घर बसेको, आफ्ना अभिभावकले मात्र मास्क लगाएको र अन्य परिवारका सदस्यले हात धोएको देख्छिन्।"
चिलेको सान्टियागोकी म्यारिएला कोर्टेसका भनाइमा उनको सपना त अझ बढी भावनामा डुबेका हुने गर्छन्।
"म त कुकुर र बिरालाजस्ता जनावरहरूलाई पनि मास्क लगाइदिन खोज्छु तर उनीहरू मान्दैनन्," उनी भन्छिन्।
हामीले हाम्रा पाठकबाट केही नमुना सपनाहरू विवरण प्राप्त गर्यौँ तर वैज्ञानिकहरूले महिनौँदेखि यसबारे अनुसन्धान गरिरहेका छन्।
अमेरिकाको हार्वर्ड मेडिकल स्कूलकी मनोवैज्ञानिक डेड्री ब्यारेटले एउटा अनलाइन सर्वेक्षणमा सर्वसाधारणबाट करिब १५,००० सपनाहरू सङ्कलन गरेकी छन्।
अहिलेसम्मा करिब दुई तिहाइ उत्तरदाताहरू महिला र एक तिहाइ पुरुष रहेका छन्।
उनले त्यसका आधारमा लेखेको पुस्तक 'प्यान्डेमिक ड्रिम्स' महामारीको पहिलो लहरमा केन्द्रित छ।
महामारी सुरु हुँदा मानिसहरूले किराले आक्रमण गरेको र सास फेर्न गाह्रो भएकोजस्ता खतरायुक्त सपना देखेको उनी बताउँछिन्।
लकडाउनका बेलामा भने मानिसहरूले जेलमा थुनिएको वा अकस्मातरूपमा गणितको परीक्षा दिनुपरेको जस्ता सपना देखेका थिए।
यद्यपि त्यसको छ महिनापछि मानिसहरूले मास्क लगाउन बिर्सिएको वा बाहिर जाँदा अरूले मास्क नलगाएको देखेको जस्ता सपनाहरू देख्ने क्रम बढेको उनले बताइन्।
ब्यारेट सामाजिक चिन्ताबारे सपनाहरू बढ्न थालेपछि सुरुमा देखिएका जस्ता डर अभिव्यक्त गर्ने सपनाहरू कम भएको तर्क गर्छिन्।
सुपर मार्केटमा मास्कविहीन
कैयौँ पाठकहरूले हामीलाई उनीहरूले सामाजिक लाज र चिन्ताको अवस्थाबारे सपनाहरू देखेको बताए।
यूकेस्थित नटिङ्घमकी डिलेटा डे क्रिस्टोफारोको भनाइ यस्तो छ, "म सपिङ सेन्टरजस्तो भिड भएको ठाउँमा छु र मैले अकस्मात् थाहा पाए कि मैले मास्क लगाएको छैन। मेरो छेउछाउका कसैले पनि मास्क लगाएका छैनन्।"
"मैले खतरा महसुस गरेँ र अचानक मेरो छेउछाउका मानिसहरूसँग सतर्क बनेँ।"
क्येम्ब्रिजशायरकी नाओमी हार्भी आफ्नो भतिजालाई अङ्कमाल गरेको सपना देखेको बताउँछिन्।
जब उनको परिवारका सदस्यहरू आए तब उनले महामारी सम्झिइन्।
त्यसले उनलाई नियम तोडेको र एक अर्कामा भाइरस सारेको खतराका कारण बेचैनी महसुस भयो।
अनि, लण्डनकी डायना भल्क भन्छिन् उनले कसैलाई चिनेको जस्तै ठानेर अङ्कमाल गरिन् तर ती महिला आफूलाई कोभिड सरेको भनेर आतङ्कित बनिन्।
उनीहरू दुवैले मास्क लगाएका थिएनन्।
एडिनबरा क्विन मार्गरेट विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक भाल्दास नोरेका अन्य बेला र सुतिरहेका बेलाको मस्तिष्कबीच जटिल सम्बन्ध रहेको बताउँछन्।
"केही विषयवस्तु हुन्छन् जुन अन्य बेलाबाट सुतेको बेलामा सर्छन् तर हामीले गर्ने केही दैनिक क्रियाकलाप हामी कहिल्यै सपनामा देख्दैनौँ," उनी व्याख्या गर्छन्।
उनी र उनका सहकर्मीहरूले सपना सङ्कलन गरिरहेका छन्।
त्यसको विश्लेषण गरेर उनीहरू कोभिडको बेला दिनमा सोचिने कुराले रातको सपनामा प्रभाव पार्छ कि पार्दैन अध्ययन गर्नेछन्।
उनी सामान्यतया: हाम्रो बलियो भावना जोडिएका कुराहरू नै सपनामा आउने बताउँछन्।
"कोही महामारीबाट धेरै नै डराएको छ भने उसलाई कैयौँ वर्षसम्म यस्ता सपना आउन सक्छन्," उनी भन्छन्।
ब्यारेटका भनाइमा मानिसहरूले प्राय: बितेका कुराहरू नै सपनामा देख्ने गर्छन्। त्यसैले महामारी सकिएको केही वर्षसम्म यसबारे धेरैले विभिन्न खाले सपना देख्न सक्ने उनको अनुमान छ।
उनले केही मानिसहरूले खोपबारे पनि सपना देखेको बताइन्। तर ती खोपबारे नकारात्मक खालका सपना थिए।
ब्यारेटको अनुसन्धानले के देखाएको छ भने ९० प्रतिशतभन्दा बढी सपनाहरू नकारात्मक छन्।
तर पछिल्ला महिनाहरूमा सानो सङ्ख्यामा सकारात्मक खाले सपनाको पनि जानकारी आएको छ।
त्यस्ता सपनाहरूमा वातावरण सफा भएको, महासागर र आकाश सफा भएको जस्ता रहेका छन्।
बिबिसी