कोभिड महामारीबीच भक्तपुर जिल्लामा स्थानीय निकायको अग्रसरताले स्वास्थ्य सेवा विस्तारका कार्यहरू तीव्र गतिमा भइरहेको छ।
आफ्नै लगानीमा परीक्षण ल्याब‚ अस्पताल‚ निःशुल्क एम्बुलेन्स सेवा‚ चिकित्सकीय सहयोग र अक्सिजन प्लान्टको स्थापनालगायत अल्पकालीन तथा दीर्घकालीन स्वास्थ्य सुविधाहरूको व्यवस्थापन तथा विस्तारमा त्यहाँका नगरप्रमुखहरूले जोड दिइरहेको बताएका छन्।
कतिपय कामहरूका लागि सङ्घीय र प्रादेशिक सरकारले सहयोग गर्न बेवास्ता गरे पनि कतै नगरपालिकाको लगानीमा त कतै जनसहभागितामा ती काम भइरहेको उनीहरू बताउँछन्।
"[सङ्घीय र प्रादेशिक] सरकारले नदिँदैमा हाम्रो काम रोकिँदैन," भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले भने।
प्रत्येक पालिकामा नगर अस्पताल
भक्तपुर जिल्लाका चार नगरपालिकाहरू आआफ्नै अस्पताल निर्माण‚ सञ्चालन तथा व्यवस्थापनमा जोड दिइरहेका देखिन्छन्।
मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री अस्पतालले कोभिड-१९ का बिरामीहरूको लागि पीसीआर परीक्षण गर्ने ल्याबदेखि आईसीयूसम्मको सेवा उपलब्ध गराउँदै आएको छ।
चाँगुनारायण नगरपालिकाले पनि केही साताअघि १० शय्याको चाँगुनारायण अस्पतालको सुरु गरेको छ।
सूर्यविनायक नगरपालिकाको नगर अस्पतालको निर्माणकार्य पनि ९० प्रतिशत सम्पन्न भएको बताइएको छ।
त्यस्तै ७६ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको भक्तपुर नगरपालिकाको ख्वप अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेको बताइएको छ।
स्थानीय तहको तत्परता
भक्तपुरका चार वटै नगरपालिकाहरू कोभिड महामारीबीच नागरिकको स्वास्थ्य सुविधा र जीवनरक्षाको लागि तत्पर देखिएका छन्।
सुविधासम्पन्न आइसोलेशन सेन्टर सञ्चालनसँगै कोभिडका बिरामीहरूको ओसारपसारको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेका छन्।
"सूर्यविनायक नगरपालिकावासीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेका छौँ। लकडाउनको अहिलेको अवस्थामा छाक टार्नै समस्या भए सम्बन्धित वडाका वडाध्यक्षको समन्वयमा खाद्यान्न पुर्याउने व्यवस्था गरिरहेका छौँ," सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा भन्छन्।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र आफ्नो नगरपालिकाको फरक प्रयास रहेको बताउँछन्।
"घरमै आइसोलेशनमा बसेका बिरामीहरूलाई प्रत्येक दिन साँझ ६ बजेदेखि जुममा चिकित्सकसँग कुराकानी गर्नको लागि भेला गरिरहेका छौँ। त्यतिबेला आफ्नो स्वास्थ्य स्थितिबारे चिकित्सकसँग परामर्श गर्न पाउनुका साथै आफूजस्तै अन्य बिरामीका अनुभव पनि सुन्ने मौका पाउँछन्। यसले आइसोलेशनमा बसिरहेका धेरैलाई राहत मिलेको भन्ने प्रतिक्रिया पाएका छौँ।"
भक्तपुर नगरपालिकाले पनि ब्रम्हायणीस्थित आफ्नै भवनमा २५ शय्याको हाइ डिपेन्डेन्सी युनिट एचडीयू र ५० शय्याको आइसोलेशनसहित ख्वप अस्पताल कोभिड युनिट सञ्चालन गरेको छ।
अक्सिजन प्लान्ट
कोभिडको दोस्रो लहरमा अक्सिजन चाहिने बिरामीहरूको सङ्ख्या बढेपछि बजारमा अक्सिजनको हाहाकार मच्चिएको थियो।
अक्सिजन नभएकै कारण कतिपय अस्पतालले बिरामीको उपचार गर्न नसक्ने स्थिति बनेको थियो।
अक्सिजन नपाउने स्थिति बन्न थालेपछि भक्तपुरका नगरपालिकाहरू अक्सिजन प्लान्ट स्थापनामा अगाडि बढेका हुन्।
मध्यपुर थिमि नगरपालिकाले आफ्नै लगानीमा नेपाल कोरिया मैत्री अस्पतालमा नेपाल मै पहिलोपटक हावाबाट अक्सिजन उत्पादन गर्ने एयर बेस अक्सिजन प्लान्ट जडान गरेको छ।
प्रतिघण्टा ८,००० लिटर अक्सिजन उत्पादन गर्ने यो प्लान्टबाट २४ घण्टामा करिब दुई लाख लिटर अक्सिजन उत्पादन हुने बताइएको छ।
आईसीयू, हाई केयर युनिट र भेन्टिलेटरका बिरामीलाई प्लान्टबाट सिधै अक्सिजन पुर्याउने काम भइरहेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठ बताउँछन्।
चाँगुनारायण र भक्तपुर नगरपालिकाले पनि अक्सिजन प्लान्ट जडान कार्यलाई अघि बढाएको बताएका छन्।
नागरिकको साथ
भक्तपुर नगरपालिका प्रमुखप्रजापतिले प्लान्ट जडान तथा आईसीयु र भेन्टिलेटरको निम्ति सङ्घीय सरकार र प्रदेश सरकारसँग पटक-पटक सहयोग माग गरेको उल्लेख गर्दै अहिलेसम्म दुवै सरकारले वास्ता नगरेको बताए।
"हामी जनतासँग हुर्केका हौँ। हामी जनतामाझ गयौँ। हप्ता दिनमा करोडौँ रकम उठिसकेको छ। अझै धेरैले सहयोगको वाचा गर्नुभएको छ। सरकारले नदिँदैमा हाम्रो काम रोकिँदैन," प्रजापतिले भने।
इमानदारीपूर्वक जनताको सेवामा लाग्दा जनताले आफ्नो कामको उच्च मूल्याङ्कन गरेको उनी बताउँछन्।
भक्तपुरका बासिन्दाले नगरपालिकाहरूको काम ढिलै भए पनि राम्रो सुरुवात भएको बताएका छन्।
बिबिसी