लुम्बिनी प्रदेशका सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा कोरोनाभाइरस सङ्क्रमण धेरै फैलिएको हुन सक्ने चिकित्सकहरूले बताएका छन्।
गाउँघरमा होम आइसोलेशनमा बसेकाहरू सुरक्षित रूपमा बस्ने अवस्था नरहेका कारण पनि सङ्क्रमण फैलिँदै गएको आशङ्का छ।
सङ्क्रमण भएका र नभएका परिवारका सदस्यहरू एउटै भान्सा र शौचालय प्रयोग गर्नुपर्ने बाध्यताले अझ धेरैलाई सङ्क्रमण फैलिने सम्भावना रहेको बाँकेको राप्ती सोनारी गाउँपालिका-४ कुम्भरकी शैलजा चौधरी बताउँछिन्।
"नन्द, देवर र म आफैँ सङ्क्रमित छौँ। तर घरमा छुट्टै बस्ने वातावरण छैन, अझ गाउँमा शौचालय नभएका कतिपय मानिसहरू हाम्रैमा आउँछन्।"
सङ्क्रमित गृहिणीका बाध्यता
आफ्नो गाउँमा धेरैलाई सङ्क्रमण भएको र सङ्क्रमित महिलाले परिवारका सङ्क्रमण नभएका सदस्यलाई खाना पकाएर खुवाउनुपर्ने बाध्यता रहेको उनले सुनाइन्।
गाउँघरमा अझै पनि कोरोनाभाइरसलाई कतिपयले सामान्य रूपमा लिने गरेको उनी बताउँछिन्।
"सङ्क्रमित गृहिणीलाई झन् गाह्रो छ। काम नगरी दुई हप्तासम्म कोठामा एक्लै बस्दा कुरा काट्न थाल्छन्, के गर्नु बाध्यता छ।"
लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालहरूमा शहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको चिकित्सकहरूले बताएका छन्।
ग्रामीण क्षेत्रमा कडा लक्षण देखिएका सङ्क्रमितहरू पनि लामो समयसम्म होम आइसोलेशनमै बसिरहने र जटिल अवस्था भएपछि मात्रै अस्पताल आउने भएकाले अवस्था गम्भीर हुँदै गएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ बताउँछन्।
संस्थागत आइसोलेशनहरूमा रहेका जटिल अवस्थाका सङ्क्रमितलाई स्वाथ्यकर्मीले अस्पताल लैजान सुझाव दिँदा समेत कतिपय बिरामी समयमा अस्पताल जान नमानेका कारण समस्या देखिएको उनी थप्छन्।
उनका अनुसार अक्सिजनको मात्रा कम हुँदै जाँदा पनि कतिपय बिरामीहरू एक-दुई दिन हेरौँ भन्छन्।
"तर सङ्क्रमितलाई एकै दिनमा कडा प्रकारको निमोनिया बढ्ने भएकाले अन्तिम अवस्थामा अस्पताल जाँदा बाँच्ने सम्भावना कम हुन्छ," श्रेष्ठले भने।
रिफर हुने बिरामी बढ्दै
भेरी अस्पताल नेपालगन्जमा अहिले बाँकेका सङ्क्रमितको सङ्ख्या धेरै कम भइसकेको भन्दै उनले बर्दिया, कैलाली, दाङ, सल्यानलगायत जिल्लाका सङ्क्रमितको बढी मृत्यु भइरहेको देखिएको बताए।
कोरोनाभाइरस सङ्क्रमितको उपचार भइरहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि पछिल्ला दिनमा सहरबाट भन्दा ग्रामीण क्षेत्रकै सङ्क्रमितहरू रिफर भएर आइरहेको अस्पतालले जनाएको छ।
पछिल्लो एक सातामा अर्घाखाँची, गुल्मी, प्यूठान, पाल्पा र कपिलवस्तुबाट रिफर भएर आउने बिरामीको सङ्ख्या बढिरहेको अस्पतालका प्रमुख डा. नन्दु पठकले बताए।
"कोरोनाभाइरस सहरबजारमा धेरै मानिसको जमघटमा मात्र सर्छ, गाउँघरमा सर्दैन भन्ने मानसिकता अझै पनि छ। त्यो कारणले पनि अहिले ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलिएको हुन सक्छ।"
लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालहरूमा सघन उपचार कक्षमा बिरामीको चाप कायमै रहे पनि सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको चिकित्सकले बताएका छन्।
लुम्बिनी प्रदेशमा अहिले देखिएको सङ्क्रमण दर ४० प्रतिशतबाट घटाउँदै पाँच प्रतिशतमा झार्ने प्रयासमा रहेको प्रदेश स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेल बताउँछन्।
ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार र चेतनाको अभावका कारण समयमा अस्पताल नगएर घरमै बस्नेको सङ्ख्या धेरै रहेको उनको तर्क छ।
"सचेतनाका कार्यक्रमसँगै यस्ता सङ्क्रमितको सामान्य स्वास्थ्य उपचारको प्रबन्धका लागि स्थानीय निकायलाई समन्वय गर्ने काम भएको छ, तर ग्रामीण क्षेत्रबाट अहिले जटिल अवस्थाका बिरामी आउने क्रम बढेको सत्य हो।"
बिबिसी